काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा बसेर नेपालमा चलखेल नगर्न सुझाव दिएका छन् । हिन्दुहरुको राजा नभएको भनेर भारतीयले चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्न उनले सुझाव दिएका हुन् ।
सामाजिक सञ्जाल मार्फत महासचिव पोखरेलले नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका भारतीय नेता, धर्मगुरु र प्रशासकहरुलाई कटाक्ष गर्दै भारतमै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्न सार्वजनिकरुपमै सुझाव दिए ।
त्यस्तै महासचिव पोखरेलले भारतको संविधानले राजा नमाने जस्तै नेपालको हकमा पनि उस्तै भएकोले अनावश्यक टिकाटिप्पणी र चलखेल नगर्न चेतावनी समेत दिएका छन् ।
धार्मिक राज्य र हिन्दु राजाको सन्दर्भ उनले भनेका छन्-
व्रिटिसहरुले भारतमा उपनिवेश चलाइरहदा ५५० भन्दा वढि रियासतहरुलाई आफ्नो अधिनमा राखेका थिए । तिनिहरुमा अधिकांशमा राजा, नवाव र महाराजाहरु थिए । त्यसमध्ये अधिकांश हिन्दु थिए । जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृती पनि थियो । सरदार वल्लवभाई पटेलले भारतिय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए ।
कतिपयले अधिनस्थता अस्विकार गरेपछि वलप्रयोगवाट भारतमा विलय गरिएको थियो । अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरु नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरु अस्तित्वमा रहेको वताउदै हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्वराजालाई त्यो सम्मान दिनु उचित हुने बताई रहेका छन् ।
उनीहरुको चिन्ता उनीहरुले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्दा भयो नि । तर त्यो सम्भव छैन । किनकी भारतिय संविधानले त्यसो गर्न दिदैन । नेपालको हकमा पनि त्यस्तै त हो नि । हैन र ?