हरिवनमा खोप सेवाको प्रगति ६० प्रतिशत

भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नियमित खोप तथा सरसफाइ सेसन प्रबर्द्धन सम्बन्धी समिक्षा गोष्ठि सम्पन्न भएको छ ।

“खोप सुरक्षित हुन्छ, खोप नि:शुल्क पाइन्छ”भन्ने नाराका साथ हरिवन नगरपालिका स्वास्थ्य सेसन तथा सामाजिक बिकास शाखाको नियमित खोप तथा सरसफाइ सेसन प्रबर्द्धन सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न भएको हो ।

हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सामाजिक विकास समितिका संयोजक प्रज्वल ढुंगानाको अध्यक्षतामा रहेको थियो । हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी प्रमुख आतिथिका रुपमा  गोष्ठीमा उपस्थित रहेका थिए ।

सो अवसरमा प्रमुख बुढाथोकीले खोपको प्रगति अवस्थाबारे जानकारी लिदै यसको पहुँच दर वृद्धि गर्न निर्देशन दिए । खोपबारेको भ्रम हटाउन र रोगबाट बचाउन खोप कार्यक्रम प्रभावकारी बनाउनुको बिकल्प नभएको मेयर बुढाथोकीले बताए ।

हालसम्म नगरपालिकामा खोप सेवाको प्रगति ६०% पुगेको र ड्रोपआउट दर ४.१% रहेको समेत  सो अवसरमा जानकारी गराइएको थियो।

उक्त कार्यक्रममा नगर उप प्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत हेमराज फुंयाल, वडा नं. २ र ९ का वडाअध्यक्ष क्रमश: अर्जुनकुमार योञ्जन र कोकिलानन्द उप्रेती, कार्यपालिका सदस्यहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, खोप कार्यकर्ता स्वास्थ्यकर्मीहरू, स्वास्थ्य शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका खोप अधिकृत लक्ष्मेश्वर झा, स्वास्थ्य कार्यालय मलगंवा, सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशीलकुमार झा, WHO IPD जनकपुरका डा.द्वय सुरेश शुक्ला र राजीवकुमार शर्मा, Unicef जनकपुरका सुरेश शाहले सहजीकरण गरेका थिए भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख राम बाबु चौधरीले गरेका थिए ।

गत श्रावणदेखि माघ महिनासम्म नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य चौकीबाट प्रदान गरिएका डिपिडी, पोलियो, बीसीजी, जापनिज इन्सेफलाइटिस लगायतका खोप सेवाहरूको समिक्षा गरिएको थियो ।

खोप सञ्चालन गर्दा खेर जाने डोजहरूको अवस्था, खोपको उचित प्रयोग, खोप मात्रा निर्धारण, खोप सञ्चालन प्रक्रिया, तथा अभिलेखीकरण प्रणालीबारे पनि छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।