नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन् । बच्चाबेलाको लुगा लगाउन नमिले जस्तै फालि सकेको राजतन्त्र फर्कन नसक्ने उनको भनाइ छ ।
भक्तपुरको ब्यासीस्थित बासु माध्यमिक विद्यालयको वार्षिकोत्सव एवं साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले राजतन्त्रले धनी र सामन्ती वर्गको मात्र हित गर्ने भएकोले श्रमजीवी मजदुर र किसान वर्गले राजाको पछि लाग्नु नहुने सुझाव समेत दिए ।
राजनीतिक दलले राम्रो काम गर्न नसक्दा जनता निराश भएका र राजावादीले जनतालाई भड्काउन खोजेका उनले आरोप लगाए । राजावादीहरु पनि वास्तविक राजावादी नभई राजा आए फाइदा लिन सकिन्छ कि भन्ने अवसरवादीहरु मात्र भएको उनले दावी गरेका छन् ।
राजनीतिक दलका नेताहरू जनता राजाका पक्षमा फर्केलान् भन्ने त्रासमा रहेको उल्लेख गर्दै उनीहरूले राम्रो काम गरे जनताले राजाबारे सोच्नै नपर्ने स्पष्ट पारे । राजा भएर पनि महेन्द्रले क्रान्तिकारी भूमिसुधार लागू गरेको, उद्योग कलकारखाना खोलेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले पूर्व राजा ज्ञानेन्द्रलाई भने ब्यापारीको संज्ञा दिए ।
राजाको प्रत्येक्ष शासनको बेलामा भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित ९९ रोपनी खाली जग्गा माग्दा तत्कालीन राजा ज्ञानेन्द्रले आफ्ना ज्वाइँ मार्फत आधा-आधा खाने प्रस्ताव पठाएको पनि उनले खुलासा गरे ।
ज्ञानेन्द्र संग देश बिकासको कुनै भिजन नभएको भन्दै अध्यक्ष बिजुक्छेले ज्ञानेन्द्र नाफा घाटा हेर्ने ब्यापारी मात्र भएको जिकिर गरे ।
राजाको शासन जनताले हेरिसकेका र फेरि हेर्न आवश्यक नभएको उनको भनाइ छ । विश्व इतिहासमा राजाहरु काटिएका र भागेका प्रशंग उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले नेपालका पूर्व राजालाई पनि चलखेल नगर्न सुझाव दिएका छन् ।