भोलि जनयुद्ध दिवस, बागमतीमा पनि सार्वजनिक बिदा

सर्लाही । भोलि फागुन १ अर्थात्, जनयुद्ध दिवस । तत्कालीन नेकपा(माओवादी) को नेतृत्वमा फागुन १, २०५२ बाट शुरु जनयुद्धले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो कुरा साचो भएपनि त्यो जस माओवादीलाई दिन बिपक्षी दलहरु भने हत्तपत्त तयार हुँदैनन् ।

नेकपा हुँदा जनयुद्ध  दिवस नै मनाएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हिजोआज जनयुद्धलाई हिंसा भएको बक्तब्यबाजी नै गरिरहेका छन् । तर, उनको यो भनाइ राजनीतिक पूर्वाग्रह प्रेरित हो भन्ने बारे दुनियाँ प्रष्ट भैसकेको छ । मानिसहरु उनको कुरा पत्याउने पक्षमा छैनन् ।

प्रधानमन्त्री ओलीले जनयुद्धलाई हिंसा भनिरहेपनि कतिपय स्थानीय सरकारहरुले भने जनयुद्ध दिवसको अस्तित्व स्वीकार मात्र गरेका छैनन्, उत्सव मनाउने भन्दै सार्वजनिक बिदा नै दिएका छन् । खासगरी माओवादी जनमत रहेको पालिकाहरुमा यसरी जनयुद्ध दिवसलाई उत्सवकै उपमा मनाउने गरिएको छ ।

 यसैबीच सर्लाहीको बागमती नगरपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ । कार्यबाहक नगर प्रमुख कृष्णकुमार लामाले एक सूचना प्रकाशन गर्दै फागुन १ गते जनयुद्ध दिवसलाई उत्सवका रुपमा मनाउन सार्वजनिक बिदा घोषणा गरिएको जनाएका छन् ।

बुधवार कावा नगर प्रमुख लामाले जारी गरेको सूचनामा फागुन १ लाई  संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको लागि परिवर्तन शुरु भएकोले जनयुद्ध दिवसको रुपमा सम्मान गर्दै शहीदप्रति सम्मान स्वरुप  सार्वजनिक बिदा गरिएको बताइएको छ ।

सबै राजनीतिक परिवर्तन कुनै न कुनै राजनीतिक दलको नेतृत्वमा भएको भन्दै बागमती नगरपालिकाले जनयुद्ध दिवसले पनि परिवर्तन ल्याएको र यस संग जनताहरु जोडिएकाले पनि जनताको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

बागमतीले बिगतका वर्षहरुमा पनि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिदै आएको थियो । नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रही नगर प्रमुख दोहोर्‍याएका भरत थापालाई राजनीतिक पूर्वाग्रहले झुठो मुद्दा लगाएर सरकारले फसाउन खोजेको भन्दै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माघ २४ गते संसदमै असन्तुष्टि व्यक्त गरेका थिए ।

बागमती नगरपालिका दक्षिण एसियाकै ठूलो मानव निर्मित प्रसिद्ध भरत ताल बनाएर चर्चामा रहेको नगरपालिका हो ।