भक्तपुर । एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको सरोकारवाला निकायहरुले आरोप लगाएका छन् ।
जिल्लाको चाँगुनारायण नगरपालिका– ३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रको सामाजिक लेखाजोखा कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहले अपनत्व नलिँदा एचआईभी संक्रमितहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा कठिनाइ भएको बताएका हुन् ।
उनीहरुले एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताको लागि बजेट तथा कार्यक्रम माग गर्दा नगरपालिकाहरुबाट सुनुवाइ नभएकोसमेत सुनाए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले समेत मानवीय तथा सामाजिक क्षेत्रमा काम गरौं भन्दा भक्तपुरका चार नगरपालिकाका मेयरले चार मुख गर्ने गरेको गुनासो गरेका छन् ।
‘भक्तपुरमा सामाजिक तथा मानवीय काममा समन्वय गर्न समस्या भइरहेको छ । मुखले चारै जना मेयर मसँग मिल्नुहुन्छ, सबै जना सौहार्द हुनुहुन्छ’, उनले भने, ‘समन्वय बैठक बसौं भन्दा हुँदैन कसैले कहिल्यै भन्दैन, तर बसौं भन्दा मेरो यो काम आइपर्यो, भ्याइँदैन भनेर तर्कनुहुन्छ । चार जना मेयर चार मुख गर्नुहुन्छ । हुँदैन, गर्दैनौं कहिल्यै भन्नुहुन्न ।’
जिसस प्रमुख थापाले चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाबाट भने केही केही समन्वय भइरहेको सुनाए । तर आफ्नै पार्टीको मेयर भएको सूर्यविनायक नगरपालिकाबाट पनि पछिल्लो समय समन्वय हुन छोडेको उनले बताए ।
‘के हो, के हो अहिले सूर्यविनायक नपामा पनि कुरा मिलेकै छैन । आफ्नै पार्टीको मेयर हुनुहुन्छ, मेरो लागि अनुकूल हुनुपर्ने, झन् मिलेको छैन । भक्तपुर नगरपालिकाले त पटक्कै समन्वय गरेको छैन । स्पष्टै भन्छु’, उनले भने ।
उनले सामाजिक तथा मानवीय क्षेत्रमा नगरपालिकाहरुले बजेट विनियोजन गर्न र कार्यक्रम राख्ने नगरेको आरोप लगाए ।
उनले भने, ‘एचआईभी तथा लागुपदार्थ दुव्र्यसनको क्षेत्रमा काम गर्नुपर्ने नगरपालिकाले हो । भक्तपुरका चार वटा नपासँग अर्बौंको बजेट छ । उनीहरुले सामाजिक क्षेत्रमा किन बजेट नछुट्ट्याएको ?’
एचआईभी संक्रमितहरु खुल्न नसक्दा यसले भित्रभित्रै विकराल रुप लिइरहेको बताउँदै जिसस प्रमुख थापाले स्वास्थ्योपचार र जीविकोपार्जनमा कुनै किसिमको सहयोग नहुँदा संक्रमितहरु उपचारको पहुँचसमेत नआइरहेको बताए ।
उनले भने, ‘त्यसैले यसमा नगरपालिकाहरुले लगानी गर्नैपर्छ । युवाहरुलाई बचाउन लागुपदार्थ दुव्र्यसनको क्षेत्र र एचआईभी संक्रमितको जीवन बचाउन यस क्षेत्रमा काम गर्नुपर्छ । यो महत्वपूर्ण मानवीय काम हो । यसको लागि सबैले सहयोग र सहकार्य गर्नुपर्छ ।’
उनले यस क्षेत्रमा एकजुट भई काम गर्न जिल्ला समन्वय समितिले अगुवाइ गर्ने वचन दिए । ‘अब कसरी अगाडि बढ्ने भन्ने वातावरण मिलाउन स्थानीय तह र सरोकारवाला निकायहरुबीच समन्वय आवश्यक छ । त्यो समन्वयको काम जिल्ला समन्वय समितिले गर्छ । जिल्ला समन्वय समितिको काम नै समन्वय गर्ने हो । त्यसमा हामी पछि पर्दैनौं’, उनले भने, ‘नगर प्रमुखहरुसँग समन्वय बैठक बसौं । एकदुई नपाले बजेट र कार्यक्रम हालेपछि अरुलाई दबाब पर्छ । ’
कार्यक्रममा सुरुवातका कार्यकारी निर्देशक राजेश दिदियाले नगरपालिकाहरुले आफ्नो क्षेत्रका एचआईभी संक्रमितहरुको अपनत्व नलिँदा उनीहरुको अवस्थामा सुधार हुन नसकेको सुनाए ।
उनले एचआईभीको क्षेत्रमा अहिले पनि लाञ्छना र भेदभाव बाँकी रहेकाले भक्तपुरका ६० प्रतिशतभन्दा बढी संक्रमितले जिल्ला बाहिरबाट एआरभी औषधि खाइरहेको बताए ।
जन्म दर्ता नहुँदा भक्तपुरमा रहेका एचआईभी संक्रमित बालबालिका सरकारी सेवासुविधाबाट विमुख रहेको उनले सुनाए ।
सरकारले १८ वर्षमुनिका एचआईभी संक्रमित बालबालिकालाई मासिक १ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । त्यस्तै एचआईभी संक्रमितलाई निःशुल्क जीवनदायिनी एन्टी रेट्रोभाइल (एआरभी) औषधि उपलब्ध गराउँदै आएको छ ।
भक्तपुर अस्पतालमा सञ्चालित एआरटी सेन्टरकी काउन्सिलर सृष्टि अर्यालले भक्तपुरमा उपचारको पहुँचमा आउने संक्रमितहरु संख्या बढे पनि सन्तोषजनक नभएको सुनाइन् । उनले हाल भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरबाट १५० भन्दा बढी संक्रमितले औषधि पाइरहेको बताइन् ।
‘एआरटी सेवामा आउने अधिकांश संक्रमितहरुले नगरपालिकाबाट आफूहरुले केही सुविधा नपाएको गुनासो गर्ने गरेका छन् । संक्रमितहरुले एआरभी औषधिमात्रै सेवन गरेर हुँदैन । शरीरमा भाइरस भएकाले शरीरको प्रतिरोधी क्षमता बढाइराख्न पोषणयुक्त खानेकुरा खानुपर्छ, तर उनीहरुको आर्थिक अवस्थाले त्यो व्यवस्था भइरहेको छैन’, काउन्सिलर अर्यालले भनिन्, ‘त्यसैले नगरपालिकाहरुले संक्रमितहरुको पोषण तथा जीविकोपार्जनको लागि सहयोग गर्नुपर्छ ।’
कार्यक्रममा चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, मध्यपुर थिमि नगरपालिकाको स्वास्थ्य शाखाकी तारा प्रजापतिले लागुपदार्थको दुव्र्यसनमा फसेका युवा धेरै रहेको र सुईबाट लागुपदार्थ प्रयोग हुँदै एचआईभी संक्रमणसम्म पुग्ने भएकाले यसको नियन्त्रण तथा रोकथामको लागि विद्यालय तहदेखि नै जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याए । उनीहरुले पैसाको लागि केही फार्मेसीहरुले लागुऔषधको अवैध बिक्री वितरण गर्ने गरेको पाइएको र अनुगमन गरेर उनीहरुलाई सचेत गर्ने काम भइरहेको बताए ।
सुरुवातको कार्यक्रम अधिकृत अनुप अधिकारीले संस्थाको परियोजनागत तथा संस्थागत गतिविधि एवं आयव्यय प्रस्तुत गरेको कार्यक्रममा त्रिविको जनसंख्या विभागका सहप्राध्याक डा. भगवान अर्याल, नेपाल रेडक्रस सोसाइटी भक्तपुरका कोषाध्यक्ष प्रदीप केसी, नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यकाका अधिकृत शरद अर्याल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, सुरुवातका उपाध्यक्ष सुरेन्द्र बज्राचार्यलगायतले एचआईभी संक्रमणको विषयलाई एकीकृत सामाजिक तथा स्वास्थ्य समस्याको रुपमा लिएर सबै पक्षबाट सम्बोधन गर्न सहकार्य हुनुपर्ने धारणा राखेका सुरुवातका कोषाध्यक्ष ईश्वरकाजी खाइजूले बताएका छन् ।