पत्रकार रोकालाई गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं २६ पुस । प्रेस सेन्टर नेपाल, काठमाडौं शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेक बहादुर रोका (टेनिस) पुरस्कृत भएका छन् ।

प्रेस सेन्टर नेपाल काठमाडौं शाखाको तत्कालिन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो ।
उनको नाममा काठमाडौं शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रदान गर्दै आएको छ ।

शाखाको काठमाडौंमा आज शुक्रबार सम्पन्न चौथो अधिवेशनमा यस वर्षको सो पुरस्कार रोकालाई प्रदान गरिएको हो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका रोका हाल नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्ष समेत रहेका छन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघको गत २८ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित हुने विभिन्न पत्रकारलाई सम्मान समेत गरेको थियो ।

 नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य सूर्य सुवेदी पथिक र प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलले सो पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

अधिवेशनको बन्द सत्रले राममणी घिमिरेको नेतृत्वमा शाखाको नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ । नयाँ कार्यसमिति १७ सदस्यीय रहेको छ । सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष अजित अधिकारीले जानकारी दिएका छन् ।