जेन्स पार्लरमा जमेका पूर्वसेना सुनिल

भक्ती रिजाल, सर्लाही । नेपाली सेनाको जागिरबाट अवकास पाएपछि सुनिल कुमार ठाकुर हजाम केही समय सम्म घुमफिर र आफन्त संगको भेटघाटमा रुमलिए । जागीरको लामो अबधि सम्म नजिकबाट आफन्त भेट्न नपाएका उनी इस्ट मित्रसंग उठबैठमा ब्यस्त भए ।

सेनाको जागीरबाट पेन्सन पाकी हाल्यो, अब के गर्छौ ? भनेर कसैले सोधिहाले सुनिलसंग प्रस्ट उत्तर थियो, पुर्खाले गर्दै आएको र आफुले कालिबक्स गणमा रहँदा निखारिएको कपाल काट्ने सिपलाइ नै निरन्तरता दिन्छु !” सैलुन खोल्छु भन्ने अठोट र संकल्प राख्दथे उनी ।

नेपाली सेनाको जागीर बाट अबकास लिएको केही बर्षमा नै सुनिलले हरिवन बजारमा “युनिक, नामको आधुनिक जेन्स पार्लर र सैलुन सन्चालनमा ल्याएका छ्न । जुन सैलुनबाट यतिबेला ५ जना ब्यक्तिले रोजगारी पनि पाएका छ्न भने सुनिल आफुले पनि युनिक सैलुनबाट महिनाको ५० हजार भन्दा धेरै आम्दानी गर्छन् ।

मिलेको अनि छरितो ज्यान, हसिलो अनि रसिलो मुस्कान सुनिलको परिचय हो । त्यही परिचयका कारण सुनिल खुशी छ्न, सुखी छ्न साथै परिचित पनि छ्न । सैलुनमा आउने सबै संग पल्टनको जिन्दगी र त्यो बेला बिताएका सुखद र संझना योग्य पलहरु सुनाउँछन् ।

सुनिललाई समय र परिस्थिति अनुरुपको कार्य गर्न कालीबक्स गणले सिकायो । त्यसैगरी मेहेनती र जिम्मेवार बन्न पनि नेपाली सेनाको कालीबक्स गणले नै सिकायो । अनि, जीवन जिउने कलामा सहज र अभ्यस्त पनि बनायो ।

महोत्तरी जिल्लाको सोनामा वडा नम्बर एकमा जन्मिएका सुनिल भन्छन् ” नेपाली सेनामा जागीरका क्रममा सिकेको अनुसाशन, लगनशीलता, मेहनत र नैतिक शिक्षाले सधैं आत्मबिस्वासी बनायो ।

२०५९ सालमा कालीबक्स गणमा भर्ना भएका सुनिल सम्झन्छन् ; कालिबक्सको जागिर मेरो जीवनको अमुल्य सम्पती, मान, इमान र सम्मान बन्यो । सुरक्षा क्षेत्रमा काम गर्ने र सरकारी कर्मचारीहरु उनको सैलुनमा प्रसस्तै आउने गरेको उनी बताउँछन् । सुनिल भन्छन् “प्राय: गरेर मेरो सैलुन फौजी साथीहरूको रोजाइमा पर्ने गरेको छ ।”

यति बेला सुनिलको सैलुनमा मान्छेको भिड हुन्छ, कपाल काट्न मानिसहरु समय कुरेर बसेका हुन्छन् कारण; सुनिलको काम गराइ मेहेनत र मुस्कान सहितको अनुशासित सेवा नै हो ।

मुसुक्क हासेर सेवा दिनु सुनिलको पहिचान हो । त्यहीबाट सुनिलको असल आत्माबोध प्रकट हुन्छ । जस्लाइ सुनिल कुमार ठाकुर `हजाम’ आफ्नो सैलुन सौन्दर्यबाट आफुले प्राप्त गरेको अलौकिक आत्मज्ञान ठान्छ्न ।

सुनिल भन्छन् ” युवाहरुको ठूलो समूह बिदेश पलायन भएको देख्दा आङ्ग नै सिरिङ्ग हुन्छ । खाडी लगायतका मुलुकमा गएर श्रम पसिना बेच्न बिवस युवाहरुले नेपालमै केही गर्दा राम्रो हुन्थ्यो तर !” राज्यको नीति स्पस्ट नहुँदा वैदेशिक रोजगारी मुलुकका लागि अभिशाप बन्दै छ ।

जीवनलाई सु:खी बनाउन सधैं भरी ब्यस्त रहनु पर्ने सुनिलको भनाइ छ । सत्य कर्ममा लाग्ने हो भने जीवन कहिल्यै पनि जटिल हुदैन । त्यसैले आफ्नु र समाजको उन्नयनको लागि सक्रिय जिन्दगी जिउनु पर्ने सुनिल बताउछन् । समय सापेक्ष भएर हिड्ने हो भने समयले कहिल्यै धोका दिदैन बरु समय नै मानिसको जीवनमा अनमोल बस्तु भएर प्रकट हुने सुनिलको बुझाइ छ ।

 ‘सुनिल हिजो जे थिए, आज जे भए त्यो सबै कालिबक्सले दिएको बक्सिस हो । सुनिल भन्छन् ; ”सैन्य जीवनले दिएको शीप, इमान र अनुशासन सधैं शिरमा राख्नेछु ।”