पहाडी र मधेसीको एकतामा राजेन्द्र महतोको जोड

प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका छन् । मधेसबादी नेताको पहिचान बनाएका महतोले सर्लाहीको लालबन्दीमा एक सभालाई सम्बोधन गर्दै पहाडी र मधेसीको एकतामा जोड दिएका हुन् ।

नेपाल सद्भावना पार्टीबाट पहिलोपटक सांसद बनेका महतो बिभिन्न दल हुँदै हाल राष्ट्रिय मुक्ति क्रान्तीका संयोजक रहेका छन् । शनिवार सर्लाहीको लालबन्दीमा चुरे शिवालिक बिशेष व्युरोले आयोजना गरेको मधेसी पहाडी एकता सभालाई सम्बोधन गर्दै उनले देश एकल जातीय चिन्तनले पछाडी परेको भन्दै चिन्ता व्यक्त गरे ।

‘देश बनाउनका लागि धोती र टोपी मिल्नुको विकल्प छैन।’ उनले भने । मधेसी र पहाडीलाई एक आपसमा लडाएर देशलाई बर्बाद गर्न खोजिएको समेत उनले खुलासा गरेका छन् ।मधेसी र पहाडी देशको एकै हैसियतको नागरिक भएपनि मधेसीलाई विदेशी भनेर फरक व्यवहार गरिएको उनको आरोप छ ।’नेपाल बनेपछि जातजाति आएको होइन, सबैको योगदानले नेपाल बनेको हो ।’ उनले भने ।

सबै जातजाति, भाषा, धर्म र संस्कृतीको नेपाल सुन्दर फूलबारी भएको भन्दै उनले एकल जातीय र क्षेत्रीय चिन्तन त्याग्न पर्ने आवश्यकता औल्याए ।