भक्तपुरका पत्रकार खड्कालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

बाबुराम दाहाल, भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका संस्थापक अध्यक्ष एवं धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्का ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघले २७ औं महाधिवेशनका अवसरमा उनलाई सम्मान गरेको छ ।

शुक्रवार राष्ट्रिय सभा गृहमा सम्पन्न महासंघको महाधिवेशनमा प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार खड्कालाई सो सम्मान प्रदान गरेका हुन् । सूर्यविनायक-५ कटुन्जे निवासी खड्का ४ दशक देखि पत्रकारितामा निरन्तर सक्रिय रहेका छन् ।

एसएलसी पास गरेर आर आर कलेज पढ्न गएपछि २०४० सालमा उनले तत्कालीन नेपाल समाचार दैनिक बाट पत्रकारिता शुरु गरेका थिए । त्यसपछि नयाँ किरण साप्ताहिक, अलकापुरी दैनिक जस्ता आधा दर्जन पत्रपत्रिकामा उनले पत्रकारको भूमिका निर्वाह गरे । खड्का आफै प्रकाशक सम्पादक रहेको धरहरा टाइम्स साप्ताहिक पनि २८ वर्षदेखि निरन्तर प्रकाशित रहँदै आएको छ ।

प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउने खड्का भक्तपुरकै पहिलो पत्रकार बन्न पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले जनाएका छन् । खड्का संगै वरिष्ठ पत्रकारहरु गोपाल बुढाथोकी, महेश्वर दाहाल, बलराम थापा, ओम शर्मा, प्रभात चलाउने लगायत देशभरका ३ दर्जन पत्रकारलाई पनि प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको छ ।

महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको जानकारी समेत गराएका छन् ।

“मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा कामहरू मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा कामहरू मात्रै गर्न निर्देशित गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भने, “यस अवधिमा सरकारबाट भएका कामहरूलाई हेर्ने हो भने इतिहासले नै सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन् ।”

सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल श्रीलङ्का नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताए ।

“शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजस्व सङ्कलनमा सुधार आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीमैत्री वातावरण सिर्जना गरिएको छ ।”

पछिल्लो समय बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको र सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार आएको उल्लेख गर्दै उनले पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदा पर्यटन क्षेत्रमा उत्साह थपिएको उल्लेख गरे ।

सरकारले चालेको सुशासनका कार्यहरूबारे प्रधानमन्त्री प्रचण्डले भने, “नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास भएको छ ।”

मिटरब्याज पीडितहरूको पक्षमा उठाइएका कदम, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण र नागरिकता प्रदान जनताको पक्षमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राहादानी, सवारी चालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम र सामाजिक न्यायको क्षेत्रमा महत्त्वपूर्ण काम भएको बताए ।

उहाँले देशभरिका ५५ लाखभन्दा बढी विद्यार्थीका लागि यसपटक पनि समयअगावै पाठ्यपुस्तक पुर्‍याइएको, किसानहरूका लागि समयमै रासायनिक मलको प्रबन्ध भएको, बिपन्न र असहाय नागरिकका लागि अस्पतालमा दुई हजार ९ सय निःशुल्क शैया तथा गैरआवासीय नेपालीहरूका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनु, बङ्गलादेशसँग पनि विद्युत् बिक्रीको सहमति हुनु र देशभित्र विद्युत् उत्पादनमा जोड दिनुले देशको आर्थिक भविष्य उज्वल रहेको छ भन्ने स्पष्ट भएको दावी गरेका छन् ।

सो अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पूर्व मन्त्रीहरु मिनेन्द्र रिजाल र पार्वत गुरुङ, त्यसैगरी नेकपा समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा र रास्वपाका प्रवक्ता सन्तोष परियारले समेत सम्बोधन गरेका थिए । त्यसैगरी प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र प्रेस युनियनका अध्यक्ष शिव लम्साल लगायतले शुभकामना प्रदान गरेका थिए ।