सांस्कृतिक एकताको स्तम्भ जो कहिल्यै बिचलित बनेनन्

भक्ती रिजाल, सर्लाही । समयको चक्रलाई उधिनेर हराएको चिज खोजे जस्तै गरी खोज्न थालियो भने त्यसको अन्तर्य सम्म पुग्न नसकिएला तर समयको सापेक्षतालाई स्विकार्न सकियो भने जीवन बाच्न कठिन नहुने रहेछ । त्यसो त आफू बाच्नु मात्रै पनि जीवन होइन, जो समाजको लागि बाच्छ उसको जीवन समाजकै उदाहरणीय बन्न जान्छ ।

यस्तै उदाहरणीय जीवन बाचिरहेका छन् हरिवनका शेख कमरुद्दिन । फुलेको दार्ही, मिलेका दन्त लहर, छरितो शरीर अनि फूर्तिलो हाउभाउ उनको बाहिरी स्वरुप हो भने सादगीपनको सग्लो ऐना हुन् शेख कमरुद्दिन ।

हरिवन नगरपालिका वडा नम्बर-११ मा बसोबास गर्ने मुस्लिम समुदाय र आम स्थानीयका मन र मस्तिष्कमा आशा र भरोषा बनेका कमरुद्दिन समाजमा शिक्षाको ज्योति छर्ने र समाजलाई परिवर्तनको दिशामा डोहोर्याउने सारथी हुन् भन्दा किमार्थ फरक पर्दैन ।

शेख कमरुद्दिन त्यो परिचय हो जसले समाजको स्थापित मूल्य र मान्यतालाई सांस्कृतिक रुपमा कहिल्यै मर्न अनि लत्रीन दिएनन् र समाजलाई अग्रगमन तर्फ लैजान सधै अग्रमोर्चा सम्हाले ।

विभिन्न समयमा उठाउन खोजिएका जातीय सद्भाव बिथोल्ने खालका षड्यन्त्रका बिरुद्ध सतिसाल बनेर उभिने शेख कमरुद्दिनले उनी साच्चै सांस्कृतिक एकताका पहरेदार हुन् भन्ने प्रष्ट पारेको छ ।

उनी जातले मुस्लिम हुन् । तर, आफ्नो धर्मसंगै विश्व धर्म तथा सनातनी सबैलाई उनी समान भाबका साथ बुझ्दछन् । सोकुरा उनको ब्यबहारबाट आफैं झल्किन्छ ।

उनको जमानाका उनी एक्ला स्नातक पास हुन् भने उर्दू साहित्यमा त झन् उनले एम फिल उतीर्ण गरेका छन् । बौद्धिक व्यक्तित्वका धनी दर्शनशास्त्री कमरुद्दिन भन्छन् ; ‘शिक्षाकै कारणले होला जीवनमा मैले सकारात्मक मात्रै सोचें – सकारात्मक भन्दा बाहेक केही सोचिन ।’

राजनीतिक रुपमा परिपक्वता पस्कनु कमरुद्दिनको अर्को असल पाटो हो । राज्य र राज्यको नीति बुझेपछि राजनीति बुझ्न कठिन नहुने उनको बुझाइ छ ।

तर उनले हिजो भोगेको राजनीति र आज देखा परेको राजनीतिमा आकाश पतालको फरक देख्दा दु:ख लाग्ने गरेको बताउंछन् ।

उनी भन्छन् , ‘आज भोलि निष्ठाको राजनीति गर्नेहरु पाउनै छाडियो जसका कारण ठूलो त्याग र तपस्या पछि आएको ब्यबस्थाप्रति जनताको गुनासो बढेको देख्दा कता-कता मन दुखेर आउँछ ।

हाम्रो जस्तो मुलुकमा राजनीतिक गतिरोध आउनु दु:खद कुरा भएको उनको बुझाइ छ । जनताको अभिमतको कदर नै श्रेयष्कर हुने भन्दै उनले सार्वभौम जनता नै वर्तमान व्यवस्थाको सौन्दर्य भएको बताएका छन् ।

समाजलाई भड्काउनु नहुने उनको भनाइ छ । समाजको बास्तबिक चरित्रलाई बचाउनु पर्छ र सजाउनु पर्छ । मिलेर बसेको समाजलाई भाड्ने र भड्काउने षड्यन्त्रलाई परास्त गर्न सबै सचेत नागरिक सजग रहनुपर्नेमा उनले जोड दिएका छन् ।

सदियौं देखी एकताको सुत्रमा बाधिएर बसेको समाज र हुर्किएका सस्कृतिलाई मलजल गर्नुको साटो भिडाउने र जुधाउन खोज्ने कृयाकलापका बिरुद्ध सधैं अग्रसर हुने कमरुद्दीन शेख कहिल्यै हारेनन् र थाकेनन पनि । उमेरले अनुभवी भैसकेका उनमा त्यस विरुद्ध भिड्न अझै असीमित उर्जा देखिन्छ ।

कमरुद्दिन भन्छ्न; समाज भित्रको असल र खराब चरित्रलाई उजागर गर्ने प्रक्रियामा सबैले हातेमालो गर्नु पर्छ । पबित्र आस्थालाई आत्मसात गर्ने हो भने जीवन सधैं खुशी हुन्छ । जिन्दगीमा भोगीएका हरेक समस्यालाई समाधानको बाटो पहिल्याउनका लागि पहिला आफैं अग्रसर हुनुपर्छ । जसले समाजलाई खुशी तुल्याउन मद्दत गर्छ उ आफू स्वत: खुशी हुने कमरुद्दिनको जीवनको सार हो ।

‘धर्मिक सहिष्णुताको अन्तर्यमा तैरिएको हाम्रो बिशिस्टतालाई मलजल गर्नु हाम्रो अहम दायित्व हो ।’ उनी भन्छन, त्यसैको जगमा टेकेर अगाडि बढ्नपर्छ ।” शेख कमरुद्दिन हरिवनका मात्र होइन, सिंगो देश र पूरै मानव सभ्यताका अद्भुत सम्पत्ति हुन् । उनको सदमार्ग पहिल्याउनु नै उनीप्रति सच्चा सम्मान हुन्छ ।

Loading...