मध्यपुर थिमिमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका बाट संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बीच त्रिपक्षीय सम्झौता भएको हो ।

अस्पतालमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार (डि.के.) रौशन र लायन्स क्लवका तर्फबाट लायन्स क्लव अफ इन्टरनेसनल डिष्ट्रिक ३२५ जी नेपाल गभर्नर दिपक कृष्ण प्रजापतिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार लायन्सले ब्लड बैंक स्थापनाका लागि १ लाख अमेरिकी डलर उपलब्ध गराउने छ । १ लाख अमेरिकी डलर भनेको १ करोड ३२ लाख नेपाली रुपैया हो ।

सो अवसरमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरेको प्रतिवद्धता अनुसार निर्वाचित भएदेखी नै जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको विकासलगायतका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आइरहेको जानकारी दिँदैं ब्लड बैंक स्थापना पनि त्यसैको निरन्तरता भएको बताका छन ।

सम्झौताले ब्लड बैंक स्थापनामा सहयोग पुग्ने र मध्यपुर थिमि नगरवासीलाई आवश्यक पर्दा रगतको अभाव नहुने उप प्रमुख बिजय कृष्ण श्रेष्ठले बिश्वास व्यक्त गरेका छन् । ब्लड बैंकबाट मध्यपुरले रक्त संचार सेवा मार्फत मानव सेवामा टेवा पुर्याउन सक्ने नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले बताएका छन् ।

सम्झौता पत्र आदानप्रदानको अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी, वडा नं. ५ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ, लायन केपी अवाल, नगरपालिकाका महाशाखा प्रमुख केशव सिलवाल, अस्पतालका प्रशासन प्रमुख सरिता श्रेष्ठ, अधिकृत रुपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको नगर प्रमुखका स्वकीय सचिव पवन श्रेष्ठले जनाएका छन् ।

उक्त ब्लड बैंकको लागि भौतिक पुर्वाधार र आवश्यक कर्मचारीको खर्च भने नगरपालिकाले ब्यहोर्ने बताइएको छ ।

Loading...