भक्ती रिजाल, सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको कृषि सिकाइ केन्द्रले कृषकको मन जितेको धेरै भएको छैन । छोटो अबधिमा किसानले प्राप्त गरेका प्रांगारिक मल उत्पादन र उपयोग हेर्दा “बिषादी मुक्त हरिवन नगरपालिका ” भन्ने नारा सार्थकता तर्फ उन्मुख भएको देख्न सकिन्छ ।
वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड), अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक तथा प्राविधिक सहयोगमा हरिवन नगरपालिकाले सञ्चालन गरेको जलवायु अनुकूलन समाधान कार्यक्रम अन्तर्गत वडा नं. ८, १, २ र ३ मा कृषि सिकाई केन्द्रले किसानलाई जैबिक कृषि उत्पादन तर्फ आकर्षित गरेको हरिवन नगरपालिकाका कृषि जलबायु परिबर्तन प्राबिधिक लालबाबु साह बताउछन् ।
विश्वमा बढ्दोे जलवायु परिवर्तनका असरहरु देखिरहेको अवस्थामा जलवायु अनुकूल प्रविधिको प्रयोग गर्दै विषादी न्यूनीकरण तर्फ किसानलाई आकर्षित गरिएको कृषि तथा जलवायु परिवर्तन प्राविधिक साहले जानकारी दिए ।
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी भन्छन् ; ‘जनतालाइ बिषादी रहित तरकारी उत्पादन तर्फ आकर्षित गर्न लागेका छौ ।’ दिनहुँ प्रयोग हुने तरकारीले शरीरलाई पौष्टिकता प्रदान गर्नुको साटो मन्द बिष दिएको भन्दै उनले बिषादी रहित तरकारी उत्पादनमा जोड दिईएको दावी गरेका छन् ।
झोल मल, घाँस र गोबर कुहाएर बनेको मल, लगायत विभिन्न किसिमबाट उत्पादित प्रांगारिक मलको उपयोग र बिषादी मुक्त उत्पादन गर्न किसान मैत्री नीति तर्फ जनस्तरमा चेतना फैलाउदै बिषादी रहित तरकारी उत्पादन गर्ने किसानलाई अनुदान तथा पुरस्कृत गर्ने तर्फ नगरपालिका लागेको मेयर बुढाथोकी बताउछन् ।
यतिबेला हरिवन नगरपालिकाले किसानलाई लक्षित गर्दै झोल, उत्पादनका साथै विभिन्न खालका मोहनी पासो, सिंचाई पोखरी, टांडे नर्सरी, थोपा सिंचाई, मल्चिङ प्रविधि, भेन्टिलेसन प्लास्टिक घर, ग्रीन नेट, सरल थोपा, मोहिनी पासो तथा झोल मल आदिको तयारी गरेको छ ।
कृषिमा उत्पादन कसरी बढाउने जलवायु परिवर्तनको असर कसरी घटाउने र विषादी न्युनीकरण कसरी गर्ने भन्ने तर्फ आफू लागेको साहले बताए ।
हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको नारायण कृषि समुहकी अध्यक्ष अन्जना कडरिया भन्छिन् ,’कृषि सिकाइ केन्द्रले आफुहरुलाई सफलतातर्फ उन्मुख गरेको छ ।
बिना बिषादी पनि तकारी उत्पादन मार्फत राम्रो फाइदा लिन सकिने रहेछ भन्ने कुराको चेतना घर घरमा पुगेको छ । अब हरिवन नगरपालिकाभरि नै यस्तो प्रबिधिको उपयोग गरेर जीवनउपयोगी कृषि प्रणाली तर्फ आफुहरु लाग्ने कडरियाले बताइन् ।’