जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया

ललितपुर । ललितपुरमा पत्रकार र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक उक्त कार्यक्रममा माओवादी केन्द्र निकट जनप्रतिनिधि र पत्रकारबीच शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अवसरमा कार्यक्रमको उद्देश्य अनुसार प्रेस र जनप्रतिनिधि विषयक दुई कार्यपत्र प्रस्तुत गरिएको प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीले जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्र प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहालले ‘सामाजिक सञ्जालको प्रयोग र प्रचार युद्ध’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए  । दाहालले सामाजिक सञ्जालको सही सदुपयोग गर्न आग्रह गर्दै नागरिक पत्रकारितालाई भरपुर प्रयोग गर्नु पर्ने बताए । उनले भने, ‘वेभ साइटहरु, ब्लगहरु र सामाजिक सञ्जालहरु प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो, जसको व्यवस्थित जग दक्षिण कोरियाबाट भएको हो ।’ अहिले विश्वभरी इन्टरनेटले लाखौं समाचार साइट र ब्लगहरु निर्माण गरेको छ, त्यसलाई जनताको हितमा ब्यापक प्रयोग गर्नुपर्ने उनले प्रष्ट पारेका छन् ।

यसैगरी प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार भवानी बरालले प्रेस र जनप्रतिनिधिको भेट शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गरे । बरालले सामाजिक सञ्जाल नयाँ मिडिया र आमसञ्चारका विविध विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् । विद्युतीय माध्यमको प्रयोगको सकारात्मक नकारात्मक दुबै पक्षमा प्रकाश पार्दै बरालले लोकतन्त्रको रक्षार्थ पत्रकारिता खरो उत्रनु पर्ने विषयमा जोड दिए ।

लोकरिझ्याँइ (डेमागग) प्रवृत्तिले प्राप्त लोकतन्त्रमाथि गरी रहेको हमला विरुद्ध उभिने साहस देखाउनु आजको आवश्यकता हो ।” उनले भने । युनेस्कोले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रताको अवसरमा अगाडि सारेको थिम ‘प्रविधिको घेरबन्दीमा पत्रकारिता’ विषयलाई व्यापक छलफलमा लैजान आग्रहसमेत उनले गरे ।

कार्यक्रममा महालक्ष्मी–६  का वडा अध्यक्ष धर्म महर्जनले वडामा धेरै राम्रो काम गरेको तर पार्टी संगठनले सहयोग नगरेको दुखेसो ब्यक्त गरे ।

ललितपुर–२१ का वडाध्यक्ष रविन्द्र महर्जनले आफ्नो वडामा पत्रकारहरु आएर विकास निर्माणको बारेमा समाचार लेख्न आग्रह गरे ।
कोन्ज्योसोम–५ का वडाध्यक्ष विजय लामाले राजधानीको कर्णालीको रुपमा वर्षौ दुख खेपेको तर अहिले भारदेउ राजधानीको नजिकको पर्यटक स्थल रहेको बताउँदै सो बारेमा उजागार गर्न पत्रकारलाई आग्रह गरे ।

वागमती–५ इकुडोलका नवराज तिमल्सिनाले यस्तो कार्यक्रम पालिका स्तरसम्म लैजानपर्ने आवश्यकता औल्याए ।

माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले पार्टीले पहल लिएको  स्थानीय आवश्यकताका बिसयमा बजेट विनियोजन गर्न सरकारमा जोड दिने आश्वासन दिए ।

प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संविधानसभा सदस्य राजकाजी महर्जन, वागमती प्रदेश सभाका पूर्व सदस्य दिनेश महर्जन, माओवादी केन्द्र जिल्ला अध्यक्ष शिव कट्टेल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण अधिकारी, उपत्यका प्रदेश महासचिव टेनिस रोका, प्रेस सेन्टर उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञावाली, अध्यक्ष नवराज दाहाल तथा जनप्रतितिनिधिहरुको उपस्थिति रहेको थियो ।

Loading...