बागमती नगरपालिकाले गरेको काम अनुशरणीय : प्रधानमन्त्री

प्रेमनाथ पौडेल, सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशको बागमती नगरपालिका बाट संघीय सरकारले पनि सिकेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अनुभूत हुनेगरी बागमतीले गरेको कार्यक्रम अनुशरणीय रहेको उनले बताएका हुन् ।

शनिवार बागमती नगरपालिकाले आयोजना गरेको शैक्षिक तथा सांस्कृतिक कार्यक्रममा ३ हजार बढी विद्यार्थीले एकसाथ प्रस्तुती दिएका थिए भने ७ वटै प्रदेशको झल्को दिने प्रस्तुतीले प्रधानमन्त्री पनि आकर्षित भएका थिए ।

सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताए ।“विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो,” प्रधानमन्त्री प्रचण्डले भने । सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कायम गर्न सकिने बताउदै प्रधानमन्त्री प्रचण्डले विविधतामा एकता नै नेपाली मौलिकता भएको प्रष्ट पारे ।

कार्यक्रमका अवसरमा सार्वजनिक शिक्षाको सुधारसम्बन्धी पुस्तक समेत लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षालाई बिकासको मेरुदण्डको रुपमा लिएर अघि बढ्ने प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसैका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ बागमती नगरपालिकाले आयोजना गरेको एक दिने महोत्सवमा ४० हजार बढी विद्यार्थी र अभिभावक सम्मिलित भएका थिए ।

कार्यक्रम सामुदायिक विद्यालयको सवलीकरण तथा रूपान्तरणका लागि देशकै नमुनाको रुपमा सम्पन्न भएको नगर प्रमुख भरतकुमार थापाले बिश्वास व्यक्त गरेका छन् ।

उक्त अवसरमा मधेश प्रदेशका मन्त्रीहरु त्यसैगरी संघीय सरकारका पूर्वमन्त्री गिरीराज मणी पोखरेल, नेकपा(माओवादी केन्द्र) का केन्द्रीय नेता लीलामणी पोखरेल लगायतको समेत आतिथ्यता रहेको थियो । शिक्षालाई महत्व दिएर जिल्लामै पहिलोपटक यस्तो बृहत र सफल भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । यसले विद्यार्थीको प्रतिभा प्रस्फुटन संगै विद्यार्थी,शिक्षक, अभिभावक र स्थानीय सरकारको शैक्षिक मार्गचित्र बुझ्ने अवसरको रुपमा लिइएको छ ।

Loading...