काभ्रेमा भेटिए भक्तपुरका नक्कली बजार अनुगमनकर्ता

आकाश गजुरेल,  भक्तपुर । बजारमा नक्कली सामान न सुन्नु भएकै होला तर बजार अनुगमन गर्ने व्यक्ति नै नक्कली भएको कुरा नौलो लाग्नसक्छ । काभ्रेमा त्यस्तै भएको छ । बजार अनुगमनकर्ता भन्दै पसल सिल गराउने धम्की दिने दुई व्यक्ति नक्कली सावित भएपछि प्रहरीको फन्दामा परेका छन् ।

बुधवार दिउँसो काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ०५ घसिलामार्गमा रहेको बेकरी पसल अनुगमन गरिरहेका नक्कली अनुगमनकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालबाट अनुगमन गर्न आएको बताउने २ जना पुरुषलाई पक्राउ गरिएको उनले पुष्टि गरेका हुन् ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक ७ वस्ने बर्ष ५० को वासुदेव न्यैपाने र वर्ष ५२ को रोशन पोखरेल रहेका डिएसपी श्रेष्ठले जानकारी गराए । पक्राउ परेकाहरु उपभोक्ता हित संरक्षण मञ्चका कुनै पनि जिम्मेवार पदमा नरहेको तथा उनीहरूको साथमा रहेको परिचयपत्र समेत नक्कली भएको प्रहरीको भनाइ छ । उनीहरुले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ बिपरित ठगी कसुर गरेको देखिएको हुँदा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिन म्याद अनुमती लिई विस्तृत अनुसन्धान कार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

यस अघि पनि करिब १ महिना अघि उनीहरु सोही क्षेत्रमा रहेको एक बेकरी पसल अनुगमन गरी पसलको दर्ता प्रमाणपत्र र खाद्यको प्रमाणपत्र नभएको भन्दै पसल सिल गरिदिने धाकधम्की लगाई रु दश हजार रुपैयाँ लिएर फरार भएका प्रहरीको दावी छ । बुधवार अर्को बेकरीमा प्रबेश गरेको देखि व्यवसायीहरुले प्रहरीलाई खबर गरेपश्चात ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिई गई खानतलासी गरी जरुरी पक्राउ पुर्जी दिई अनुसन्धानको निम्ति कार्यालयमा ल्याएको प्रहरीको जिकिर छ ।

Loading...