पाकिस्तानमा सरिफ-भुट्टो सरकारको सम्भावना

इस्लामबाद, २७ माघ । पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन, यद्दपि सरकार गठनका लागि प्रयास भने सुरू भइसकेकाे छ । 

पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले कडा प्रदर्शन गरिरहेका छन्।

पाकिस्तानमा २६५ सिटका लागि चुनाव भएको थियो । बहुमतका लागि १३३ सिट आवश्यक छ । अहिलेसम्म इमरान खानको पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले ९१ सिट प्राप्त गरेका छन्  भने नवाज सरिफको पीएमएल–एनले ७१ सिट र बिलावल भुट्टोको पीपीपीले ५४ सिट ल्याएको छ । अन्य दलले ३५ सिटमा जीत हासिल गरेका छन । अझै १५ सिटको मतगणना बाहिर आउन बाँकी रहेको छ ।

तर, जियो न्यूज रिपोर्टका अनुसार पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) केन्द्र र पञ्जाबमा गठबन्धन सरकार बनाउन सहमत भएका छन्। 

केन्द्र सरकारको तहमा पनि दुई समुहका बीच सहमति भइसकेको छ । पीएमएल–एनका अध्यक्ष शहबाज सरिफले पीपीपीका अध्यक्ष बिलावल भुट्टो र पूर्व राष्ट्रपति आसिफ अली जरदारीलाई भेटेर पाकिस्तानका लागि मिलेर काम गर्न निम्तो दिएका छन्।

उता, इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफले इस्लामावादको तीन सिटको नतिजामाथि प्रश्न उठाएको छ । यी सिटको नतिजालाई चुनौती दिँदै पीटीआई उच्च अदालत पुगेको छ । छिट्टै निवेदन दायर गरिनेछ।

Loading...