नेपालको बिकास हिन्द महासागरमा निर्भर रहेको परराष्ट्र मन्त्रीको भनाइ

काठमाडौं, २७ माघ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्। 

अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए। 

 

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रुपमा सिमित नभइ संसारको सभ्यताको केन्द्र रुपमा रहेको बताएका हुन्। उनले भने, ‘हिन्द महासागर भू–राजनीतिक, भू–रणनीतिक र भू–आर्थिक महत्वका दृष्टिकोणले हेर्नुपर्दछ।’ 

सम्बोधनका क्रममा मन्त्री साउदले थपे,‘यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैरपरम्परागत दुवै सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ।

 

समुद्री आतंकवाद, डकैती, लागूऔषध र हतियारको ओसारपसार, मानव बेचबिखन, गैरकानूनी आप्रवासन एवम नेभिगेसनको स्वतन्त्रतामा अवरोधलगायत सुरक्षा चुनौतीहरू गम्भीर रूपमा खडा हुनु दुःखद छ।’ 

हिन्द महासागर नेपालको वैदेशिक व्यापारका लागि एक हिस्सेदार र अन्तर्राष्ट्रिय बजारमा पुग्ने लाइफलाइनका रुपमा रहेको मन्त्री साउदले उल्लेख गरे। 

नेपालले महासागरको महत्वलाई विश्वव्यापी जनहितका रूपमा मान्यता दिएको बताउँदै मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिए।

Loading...