घुस रकम सहित काभ्रेपलान्चोक जिल्लाका एक वडाध्यक्ष भक्तपुरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार राति उनलाई मध्यपुर ठिमीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादे रहेका छन् । अख्तियारले स्टिङ अपरेसन गरी उनलाई १५ लाख रुपैयाँ घुस रकम सहित रङ्गेहात पक्राउ गरेको हो । उनी सवार कार र कार चालक समेत अख्तियारको नियन्त्रणमा रहेका छन् । अख्तियारले मुचुल्का उठाइ उनीहरुलाई घुस रकम सहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको बताइएको छ । वडाध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको अख्तियारको आरोप छ । बादे गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।