स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो

बाग्लुङ्ग । बाग्लुङ्गको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय) लाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको छ । आइतबार कार्यालय समयमा केसीलाई कालोमोसो दलिएको हो ।

म्याद गुज्रेको औषधि खुवाएर बडिगाड बासीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै कारबाही स्वरुप कालोमोसो दलेको उक्त पार्टीका जिल्ला इन्चार्ज अजनवीले बताएका छन् ।

बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही स्वरुप कालोमोसो दलिएको प्रेषित प्रेस बिज्ञप्तिमा भनिएको छ ।

बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखामार्फत वितरण भएको १० देखि १९ वर्ष समूहका किशोरीले खाने आइरनचक्की म्याद गुज्रेको अवस्थामा बिक्रीवितरण गरिएको स्थानीय अनलाइन समाचार्माध्यमहरुले प्रकाशित गरेको थियो । त्यसपछि गाउँपालिकाले भने पत्रकार सम्मेलन नै गरेर त्यसो नभएको स्पष्टिकरण दिएको थियो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख माथि कालोमोसो दलिएपछि कर्मचारीहरु आतंकित बनेका छन् । यदि शंका लागे कारवाहीको कानुनी बाटो हुँदा हुँदै कानुन हातमा लिएर राजनीतिक दलले निकृष्ट हर्कत गरेको उनीहरुको जिकिर छ ।

Loading...