पर्यटकीयस्थल बन्दै बागलुङको सहस्रधारा

बागलुङ, २७ असोज । दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जङ्गलबीच छङ्छङ गर्दै झरना बगिनैरहेको थियो । पर्यटक पर्खिरहेको थियो ।

गलकोट नगरपालिका–३ हटियास्थित झरना हिजोआज भने चर्चामा छ । चिनारी बदल्दै छ । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदैछ । जनप्रतिनिधि र स्थानीयवासी सहस्रधारा क्षेत्रको विकासमा जुटेका छन् ।

विसं २०७४ फागुनमा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) को सफल परीक्षणपछि झरनाले थप चर्चा पायो । गत असारमा पहिलोपटक व्यावसायिक रुपमा खेलाइयो । छाँगावरोहण खेलपछि झरनाबारे धेरैले थाहा पाए । बाहिर प्रचार पनि भयो ।

सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले (क्यानोनिङ) शुरु गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । “पहिले एक्लै जान डर लाग्ने ठाउँ थियो”, उनले भने, “विस्तारै सहस्रधारा पर्यटकीय गन्तव्यस्थल बन्दैछ ।”

यसपालि दशैँको बिदामा पनि झरना घुम्नेको सङ्ख्या बढ्यो । छाँगावरोहणका लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा राम्रो गन्तव्य हो । जङ्गलले घेरिएको अक्करे भिरमुनि झरना अवस्थित छ ।

झट्ट जङ्गल छेउ पुग्दा लाग्दैन, झरना छ । केहीबेरको पदयात्रामा खोचमा पुगिन्छ । तब बल्ल देखिन्छ, मनमोहक झरना । ८६ मिटर अग्लो झरनाले मनै लोभ्याउँछ । वडाध्यक्ष भण्डारीसहित केही युवाले शुरुमा झरनामा छाँगावरोहण गर्नेबारे सोचेका थिए । अन्ततः त्यही जुक्तिले काम ग¥यो, छाँगावरोहण सफल भयो ।

साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) का लागि नयाँ गन्तव्य पहिचान भयो । स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्र’ गठन गरेर खेलसँगै झरनाको प्रवद्र्धन गरिरहेका छन् । युवाको सोच र योजनामा गलकोट नगरपालिकाले अगुवाइ प्रदान गरेको छ ।

वडामार्फत सहस्रधारा क्षेत्रको पर्यटकीय विकासमा सरकारी सहयोग भित्रिएको छ । वडाध्यक्ष भण्डारीका अनुसार ‘क्यनोनिङ’ लाई दिगो र व्यावसायिक बनाउन पूर्वाधार तयारीको काम भइरहेको छ । ‘क्यानोनिङ’ नियमित सञ्चालनका लागि स्थानीय युवालाई तालीममा पठाउने वडाको तयारी छ ।

विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) मार्फत काम अघि बढाइएको सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्रका सचिव गुञ्जबहादुर खत्रीले बताए । यही वर्ष ‘क्यानोनिङ’मा चाहिने ‘हार्नेस’, ‘हेल्मेट’, ‘ज्याकेट’, डोरी (रोप) जस्ता सामग्री तथा उपकरण जुटाइने भएको छ ।

नगरपालिकाबाट गत आवमा विनियोजित पाँच लाख बजेटबाट पदमार्ग, विश्रामस्थल, बगैँचालगायत संरचना बनेका छन् । चालू आवमा पनि नगरपालिकाले चार लाख बजेट छुट्टाएको छ । ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि सञ्चालित छ ।

उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले गत आवमा १२ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट उद्यान, पोखरी निर्माण, वृक्षरोपणलगायतका काम गरिएको छ । साहसिक खेलका माध्यमबाट सहस्रधाराको पर्यटकीय विकास गरिने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए ।

साहसिक खेलमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने उनको भनाइ छ । सहस्रधारालाई धार्मिक पर्यटनसँग पनि जोड्न सकिने स्थानीयवासी बताउँछन् । सहस्रधारामा एक हजारभन्दा बढी फोहोरा खस्छन् । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुई पटक झरनामा पूजा गर्ने गर्छन् ।

गलकोट, हटिया बजारदेखि दुई किमि मोटर यात्रामा सहस्रधारा पुग्न सकिन्छ । पैदल हिँडे जम्मा ३० मिनेटमा पुगिन्छ । बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किमि यात्रापछि गलकोट आइपुग्छ ।

Loading...