गौरादहमा कृषि हाट बजारको उद्घाटन

दमक, २७ असोज । झापाको गौरादह बजारमा करीब एक करोड ५० लाख बढीको लागतमा निर्माण गरिएको कृषि हाट बजारको आइतबार उद्घाटन गरिएको छ । दोस्रो ऐतिहासिक सांस्कृतिक दशैँ मेलाको अवसर पारेर एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे ।

उनले नवनिर्मित गौरादह बजारको उद्घाटन गर्नुका साथै गौरी गाईको प्रतिमा समेत अनावरण गरे । करीब १३ कट्ठा जमीनमा दुईतर्फी गरेर ९८ वटा व्यवस्थित स्टल रहेका छन् । बजार क्षेत्रमा विभिन्न प्रजातिका रुख रोपिएका छन् । प्रदेश सरकार, नगरपालिका र स्थानीयको गरेर झण्डै डेढ करोड खर्च भएको बताइएको छ ।

साताको दुईपटक आइतबार र बिहीबार लाग्दै आएको दक्षिणी ग्रामीण बजारलाई स्तरोन्नति गरिएसँगै व्यावसायिक चहलपहल बढ्नुका साथै बजारसँगै पार्कको रुपमा यसलाई आन्तरिक तथा बाहिरी पर्यटक भित्रने लक्ष्य राखिएको गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए ।

त्यस अवसरमा आयोजना गरिएको दशैँ मेलामा विभिन्न जातजातिका संस्कृति झल्कने वेषभूषामा सजिएर बाजागाजासहित नृत्य प्रस्तुत गरिएका थिए । साथै परम्पराकालदेखि नै सञ्चालन गरिँदै आएको सन्थाल जातिको लोपोन्मुख नृत्य प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितात्मक सन्थाल नृत्यमा गौरीगञ्ज गाउँपालिका–२ को कोरोबारी जियोङ झरना युवा क्लब, कमल गाउँपालिका–१ को सन्थाल युवा क्लब द्धितीय, मोरङको सन्थाली चम्पावाहा सांस्कृतिक टोली तृतीय र गौरीगञ्ज गाउँपालिका–२ को भाकुरमारी महिला समूहको नृत्य टोलीले सान्त्वना प्राप्त गरेको थियो । विजेता टोलीलाई क्रमशः नगद २१ हजार, १५ हजार, ११ हजार र नौ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।

Loading...