यसवर्ष किन घट्यो रोपाइँ

काठमाडौँ, २१ साउन । समयमै पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा यसपटक रोपाइँमा कमी आएको छ । गत वर्षको तुलनामा यसपटक ३.६२ प्रतिशतले रोपाइँ घटेको हो ।

गत वर्ष साउन १८ गतेसम्म ८९.६२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्षको सोही अवधिमा ८६ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

गत वर्ष सोही अवधिमा १२ लाख २९ हजार ३३५ हेक्टरमा रोपाइँ भए पनि यस वर्ष ११ लाख ७९ हजार ६८८ हेक्टरमा मात्र रोपाइँ भएको छ । नेपालको कूल १३ लाख ७१ हजार ७०६ हेक्टरमा बर्खे धान रोप्न सकिन्छ ।

गत वर्षको तुलनामा कर्णालीबाहेकका सबै प्रदेशमा रोपाइँको दर घटेको छ । सो अवधिमा गत वर्ष प्रदेश नं १ मा ८६.२९ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ८०.१३ प्रतिशतमात्र सम्पन्न भएको छ । त्यसैगरी प्रदेश नं २ मा गत वर्ष ८४.४६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८१.९९ प्रतिशत र प्रदेश नं ३ मा गत वर्ष ८९.३६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८८.६७ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेशमा पनि गत वर्षको तुलनामा यस वर्ष रोपाइँ घटेको छ । सो अवधिमा गण्डकी प्रदेशमा ९६.५९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८६.५९ प्रतिशतमात्र रोपाइँ हुन सकेको छ । प्रदेश नं ५ मा गत वर्ष ९१.३९ प्रतिशत र यस वर्ष ८८.८६ तथा सुदूरपश्चिम प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ भए पनि यस वर्ष ९५.३३ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ ।

कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा केही मात्रामा रोपाइँको दर बढेको छ । सो अवधिमा गत वर्ष ९१.५५ प्रतिशत रोपाइँ सम्पन्न भएको कर्णाली प्रदेशमा यस वर्ष ९४.१० प्रतिशत रोपाइँ भएको केन्द्रका वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यले जानकारी दिए ।

भौगोलिक अवस्थाका अनुसार उच्च पहाडमा ०.९२, मध्य पहाडमा ३ र तराईमा ३.९७ प्रतिशतले घटेको छ । उच्च पहाडमा गत वर्ष साउन १८ गतेसम्म ८९.७६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८८.८४ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ ।

यस्तै मध्य पहाड र तराईमा क्रमशः गत वर्ष ८९.६५ र ८९.६० प्रतिशत रोपाइँ भएकामा यस वर्ष क्रमशः ८६.६५ र ८५.६३ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । तराईका जिल्लामा साउन मसान्तसम्म रोपाइँ गर्न सकिने भएकाले गत वर्षकै अनुपातमा रोपाइँ हुन सक्ने केन्द्रले जनाएको छ ।

पर्याप्त सिँचाइको सुविधा नहुँदा रोपाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । ठूला क्षेत्रमा एकैसाथ सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ निर्माण शुरु गरिएको सिँचाइ आयोजना सम्पन्न हुन सकेका छैनन् ।

Loading...