कृषिमा उच्च प्राथमिकता, कृषि उपकरणमा ५० प्रतिशत अनुदान

बुटवल, २ साउन । रूपन्देहीको सैनामैना नगरपालिकामा बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरिएको छ । नगरपालिकाप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरूलाई पाँच मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्यूजल वितरण गरेका हुन् ।

सो अवसरमा नगरपालिकाप्रमुख कार्कीले किसानहरूलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिए ।

“यहाँको कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइरहेको छ” उनले भने । जगाको चक्लाबन्दी गरी सामूहिक खेती र एकीकृत कृषि प्रणालीमा जोड दिइएको उल्लेख गर्दै प्रमुख कार्कीले आफूले पाएको प्रविधिको उपयोग गरी लाभ लिनसमेत अनुरोध गरे ।

कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण वितरण गरिएको कृषि सेवा केन्द्र सैनामैनाका अधिकृत साधुशरण यादवले बताए ।

वडा नं ७ का चन्द्रबहादुर राना र टेकबहादुर अर्याल, वडा नं ५ का रामप्रसाद चौधरी, वडा नं ८ का रामप्रसाद पाण्डे, वडा नं १ का मङ्कगरे यादव र देउराली किसान समूहले ती उपकरण अनुदानमा पाएका हुन् । अनुदान उपकरण पाएपछि खुशी व्यक्त गर्दै सैनामैना– ७ का चन्द्रबहादुर रानाले धान, गहुँ र तरकारी खेती गर्न उपकरणको उपयोग हुने बताए ।

Loading...