माओवादी नेतृत्व रहेको मरिण गाउँपालिका वित्तीय सुशासनमा सर्वोत्कृष्ट

सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन(FIDUCIARY RISK ASSESSMENT) मा सिन्धुली जिल्लाको मरिण गाउँपालिका उच्चत्तम अंक हासिल गर्दै प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० को वित्तीय सुशासन जोखिम मूल्यांकन गर्दा देशैभरका स्थानीय तहमा मरिण गाउँपालिका सर्वोत्कृष्ट भएको हो ।

 कार्यविधि नै बनाएर स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गर्दा मरिण गाउँपालिकाले उच्चतम अंक प्राप्त गरेको मन्त्रालयले बताएको छ । १०० पूर्णाङ्कमा मरिणले ९७ .५० अंक प्राप्त गर्दै देशैभरका स्थानीय तहलाई उछिनेको मन्त्रालयले नतिजा सार्वजनिक गरेको छ ।

९७ .५० अंक सहित मरिण गाउँपालिका प्रथम हुँदा १६ अंकसहित बोधिमाइ नगरपालिका अन्तिम स्थानमा रहेको छ । स्थानीय तहको वित्तीय जोखिम मूल्याङ्कन गरी वित्तीय सुशासन अभिवृद्धि गर्ने उदेश्यले मन्त्रालयले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ को मापदण्डमा रही प्रत्येक आर्थिक वर्षमा स्थानीय तहको अवस्था सार्वजनिक गर्दै आएको छ ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ ले वित्तीय सुशासनमा जोड दिंदा सफलता मिलेको बताए । उनी नेकपा(माओवादी केन्द्र) को उम्मेद्वार भै गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । मरिण गाउँपालिकाको गाउँ सभामा माओवादी केन्द्रको दुई तिहाइ बढी मत रहेको छ । मरिणमा उपाध्यक्ष र एक वडाध्यक्ष बाहेक पुरै सेट माओवादी केन्द्रको छ भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी बिमला माझी निर्वाचित भै उपाध्यक्ष रहेकी छन् ।

वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा प्रथम भएको मरिण गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा समेत बागमती प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले जानकारी दिए । गाउँपालिकाको सफलताले कर्मचारीलाई काम गर्न थप प्रेरणा मिलेको उनले प्रतिक्रिया दिएका छन् ।

जनताको घर आगनको सरकारको रुपमा रहेको स्थानीय सरकारमा सुशासन देखिनु सुखद कुरा भएको भन्दै निर्माण व्यवसायीसमेत रहेका समाजसेवी उद्धव दाहालले सन्तोष व्यक्त गरेका छन् भने मारिणको सफलताबाट जिल्लाका अन्य स्थानीय तहले पनि सिक्नुपर्ने प्रदेश सभा सदस्य सुस्पा भुजेल ‘आस्था’ले बताएकी छन् ।

Loading...