भक्तपुरको भैरवनाथ मन्दिरलाई सुवालको ७ लाख ७७ हजार सहयोग

भक्तपुर । भक्तपुरको भैरवनाथ मन्दिरमा पूजा व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्न स्थानीय शिवराम सुवालले आर्थिक सहयोग गरेका छन् । भनपा १० बेखाल बस्ने समाजसेवी सुवालले मन्दिरका लागि ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

य:मरी पुन्हीको अवसरमा मंगलवार त:मारीमा आयोजित एक कार्यक्रमका बीच सुवालले सो रकम बराबरको चेक मन्दिरका पूजारी मुल नाइके लक्ष्मीभक्त धेमसु र पूजारी कृष्णभक्त छुकांलाई हस्तान्तरण गरे । उक्त रकमबाट खडा गरिने अक्षय कोषले मन्दिर व्यवस्थापनमा सहयोग पुग्ने उनले बिश्वास व्यक्त गरेका छन् ।

तौमढि युथ क्लवले मन्दिर व्यवस्थापन अक्षय कोषको लागि पहल गरिरहेको छ । क्लवका अध्यक्ष शिवराम भुजुको विशेष पहलमा आयोजित कार्यक्रममा दाता शिवराम सुवालले ठुलो धनराशी सहयोग गरेपछि श्रद्धालुहरु हर्षित भएका छन् । यसले मन्दिरलाई थप व्यवस्थित बनाउदै जाने स्थानीयले बिश्वास व्यक्त गरे ।

सहयोग हस्तान्तरणले समाजलाई धर्म र सस्कृतीको जगेर्नामा योगदान गर्न प्रेरित गरेको स्थानीय समाजसेवी अनन्त प्रसाद धौभडेलले बताए । उनले सहयोगी मनका सुवाललाई धन्यवाद ज्ञापन गर्दै सहयोग गर्न मानिससंग धनसंगै मन पनि ठुलो हुनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रमका संचालक विजयप्रसाद धौभडेलले धर्म, संस्कृती र परम्पराको रक्षा भएमात्र समाजको मौलिकता रक्षा हुने भन्दै क्लवले यसका लागि सचेतता पूर्वक काम गरिरहेको जानकारी गराए ।

Loading...