कार्यालयबाटै प्रमुख प्रशासकीय अधिकृत पक्राउ

पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । ठगीको आरोपमा पराजुली पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रार रहँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा १ करोड पाँच लाख घूस लिएको आरोप छ ।

कास्की प्रहरीको अनुरोधमा पराजुलीलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रमण पौडेल र  व्यवस्थापक किरण अधिकारी प्रक्राउ परेपछि पराजुली तानिएका हुन् ।

Loading...