कांग्रेसलाई अरुले नभई कांग्रेसले नै हराउने गरेको छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद शशांक कोइरालाले कांग्रेसलाई अरुले नभई कांग्रेसले नै हराउने गरेको टिप्पणी गरेका छन् । मंगलवार प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अधिवेशनलाई उद्घाटन गर्दै उनले सो टिप्पणी गरेका हुन् ।

नेतृत्व सुध्रिनु पर्छ भन्ने जनताको मतलाई स्विकार गरेर अघि बढ्नुपर्ने उनले बताए । “सबैले सुध्रिनु पर्छ भनेपछि सुध्रिएर जानुपर्छ भन्ने मलाई पनि लागेको छ ।”उनले भने ।

नेपालको भविष्य अत्यन्त राम्रो रहेको जिकिर गर्दै सांसद कोइरालाले कृषि क्षेत्रमा ठूलो अवसर सिर्जना गर्न सकिने उद्घोष गरेका छन् । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन र योजना सञ्चालन गर्नुपर्ने सुझाव दिदै उनले स्वास्थ्य र शिक्षामा जनताको सहज पहुँच हुनुपर्नेमा जोड दिए । उनले प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालमा आवद्ध हुनेहरुले जनताको स्वास्थ्य प्रति जिम्मेवार भई सेवा गर्ने र सो क्षेत्रलाई राम्रो बनाउन योगदान गर्नुपर्ने पनि निर्देशन दिएका छन् ।

संघका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह, संघका पूर्व अध्यक्षहरु, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, महासचिव दिपक भट्टलगायतले धारणा राखेका थिए ।

अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा विन्जवला श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, उपाध्यक्षहरुमा वृज कुमार दास, दया कृष्ण पन्थ, तुलसी सुवेदी, महासचिवमा विनोद जोशी, उपमहासचिवमा श्रीकृष्ण बस्नेत, सचिवमा निराजन पोखरेल, कोषाध्यक्षमा रागी श्री कक्षपति र सहकोषाध्यक्षमा रणधिर कुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा प्रकाश कुमार बिष्ट, धिरजंग शाह, डा. प्रकाश ज्ञवाली, ईन्द्र आचार्य, शिला शर्मा, जितनारायण यादव र किरण श्रेष्ठ निर्विरोध चयन भएको निवर्तमान अध्यक्ष महेश्वर श्रेष्ठले जनाएका छन् ।

Loading...