संघीयताको उत्कृष्ट अभ्यासमा छौं,पालिकाबिरुद्ध शिक्षक आन्दोलन प्रयोग हुनुहुँदैन : सुनिल प्रजापति

भक्तपुर नगरपालिकाले संघीयताको उत्कृष्ट अभ्यास गरिरहेको नगर प्रमुख सुनिल प्रजापतिले प्रष्ट पारेका छन् । सोमबार नगर भित्रका विद्यालयका प्रधानाध्यापक भेलामा प्रमुख प्रजापतिले सोकुरा प्रष्ट पारेका हुन् ।

भक्तपुर नपा आफैले ख्वप विद्यालय, इञ्जिनियरिङ्ग लगायतका विषयका कलेजलहरु र प्राविधिक शिक्षालयहरु सक्न्चालन गरिरहेको उनले बताए । सामुदायिक र संस्थागत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई समान शिक्षा दिने विषयमा जोड दिँदै आएको जानकारी गराउंदै प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय स्थापनाको उद्देश्य अनुसार आवश्यक पूर्वाधार निर्माण गरिएको पनि जिकिर गरे ।

भक्तपुर नपाले आफ्नै स्रोत र साधनको अधिकत्तम प्रयोग गरी भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको एक आकर्षक गन्तव्यको रुपमा विकास गरिरहेको बताउँदै उनले आर्थिक रुपमा स्वतन्त्र नभएको देश राजनैतिक रुपमा पनि कहिल्यै स्वतन्त्र हुन नसक्ने उल्लेख गरे ।

प्रमुख सुनिल प्रजापतिले शिक्षक आन्दोलन र त्यसको औचित्यमाथि प्रष्ट पार्दै शिक्षा विधेयकमार्फत जिल्ला शिक्षा कार्यालयको पुनःस्थापनाको माग भने जायज नभएको जिकिर गरेका थिए ।

शिक्षा विधेयकमा स्थानीय तहको अधिकार कटौती गरी संघमा पु¥याउने प्रावधानहरु संघीयताको मर्म बिपरित प्रतिगामी हुने उनले बताए ।

नेपालको संविधान २०७२ ले मावि तहसम्मको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको र संविधानले प्रदान गरेको त्यो अधिकार कुनै पनि बहानामा खोस्न दिन नहुनेमा उनले जोड दिए ।

उक्त अवसरमा उपप्रमुख रजनी जोशीले समाज विकासको महत्वपूर्ण जग शिक्षा क्षेत्र भएको बताउँदै भक्तपुरको शिक्षा विकासमा भक्तपुर नपाले विशेष प्राथमिकता दिँदै आएको बताइन ।

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भक्तपुर नगरपालिकाले संघीयताको असल अभ्यास गरिरहेकाले यहाँ बाट सिक्न देशका विभिन्न स्थानीय तहहरु, संघ संस्थाहरु भक्तपुरको अध्ययन भ्रमणमा आउने गरेका प्रति गर्व गरे ।

नवनियुक्त नगर शिक्षा अधिकृत साधुराम फुयालले भक्तपुरको शिक्षा विकासको लागि सामुहिक प्रयास अपरिहार्य भएको भन्दै यहाँको शिक्षा प्रगति र उन्नतिको लागि आफ्नोतर्फबाट सँधै रचनात्मक सहयोग रहने प्रतिबद्धता प्रकट गरेका थिए ।

\उक्त कार्यक्रममा संयुक्त परीक्षा समितिका रोशनराज तुईतुईले स्थानीय पाठ्यक्रमको परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए । सार्वजनिक परीक्षा समितिका राम हाडाले विद्यार्थी संख्याको अनुपातअनुसार शिक्षक दरबन्दी मिलान गर्नुपर्ने र शिक्षकहरुको योग्यताअनुसार शिक्षकहरुको तहवृद्धि गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै आधारभूत विद्यालय तथा परीक्षा समितिका सूर्यबहादुर पन्चले आधारभूत तहलाई व्यवस्थित र स्तरीय बनाउन सके उच्च शिक्षा स्वतः राम्रो हुँदै जाने बताए । प्याब्सन नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले भक्तपुर नपाले भक्तपुरका सामुदायिक विद्यालय संगै संस्थागत विद्यालय लाई महत्व दिएर हरेक विषयमा सहजीकरण गरिरहेको प्रति सन्तोष व्यक्त गरे । एन प्याब्सनका तर्फबाट शिवकृष्ण कवांले विद्यालयका शिक्षकहरुबीच शिक्षा विधेयकबारे व्यापक छलफल आवश्यक रहेको बताउँदै एसईई परीक्षा हटाउदा शिक्षाको गुणस्तरमा पर्ने असरबारे पनि स्पष्ट हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा भक्तपुर नपा शिक्षा शाखाका कर्मचारी कृष्णप्रसाद कर्माचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

 

Loading...