विदेशको अप्रिय घटनाबाट उत्पन्न सुरक्षा चुनौतीप्रति सतर्क रहन प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन

निमित्त प्रहरी महानिरीक्षक रहेका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रदेश प्रहरी प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा कायम गर्नुपर्ने बताएका छन् ।

प्रदेश प्रहरी प्रमुखहरूलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् सोमबार निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक राईले सो कुरा बताएका हुन् ।

निमित्त प्रहरी महानिरीक्षक राईले नजिकिँदै गरेका चाडपर्वमा हुनसक्ने कालोबजारी एवम् तस्करी नियन्त्रणको साथै सवारी दुर्घटना न्यूनीकरणका लागि अझ बढी सक्रियताका साथ जिम्मेवारी बहन गर्नुपर्ने बताए । हालै देश विदेशमा घट्न गएका अप्रिय घटनाबाट उत्पन्न हुन सक्ने चुनौतीलाई विशेष ख्याल गर्दै शान्ति सुरक्षा सहज बनाउन अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

उक्त अवसरमा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा प्रतिनिधिले आ-आफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, विशेष सुरक्षा योजना तय तथा कार्यान्वयन र भइरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको साथै वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति एवम् सात वटै प्रदेश प्रहरी प्रमुखहरु तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।

Loading...