संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणका परिणाम सार्वजनिक भइरहँदा मुलुकको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसका लागि देशैभरिबाट निराशाजनक परिणाम आएको छ । योसँगै काँग्रेसको भविष्यबारे विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेका छन् । ती टिप्पणी कतिपय सकारात्मक र कतिपय पूर्वाग्रही वा विरोधी कित्ताको ‘सनातन धर्म’ पर्छन् । जे जस्ता प्रतिक्रिया आएका छन् ती स्वभाभाविक हुन् भने नकारात्मक वा ध्वंशात्मक टिकाटिप्पणीलाई पूर्णलोकतान्त्रिक संस्कारको कमी रहेको अर्थमा लिनुपर्छ । आमकाँग्रेसीजन विपक्षीको टिकाटिप्पणीमा अल्मलिने वा प्राप्त परिणामलाई लिएर ‘ह्युमिलेट’ भएर झोक्राउने मात्र होइन, यो परिणामका पछाडिका कारणहरुको खोजी गर्दै आगामी दिनमा विगतमा भएका कमीकमजोरी नदोहो-याउने लोकतान्त्रिक खाका बोकेर अघि बढ्न जरुरी हुन्छ ।
कहाँ चुक्यो काँग्रेस ?
विशेषतः पहिलो संविधानसभा निर्वाचन (२०६४) पश्चात संसदमा ६५ प्रतिशत कम्युनिष्ट (बाम शक्ति) को उपस्थिति रहेको संविधानसभाले चार÷चारवटा कम्युनिष्ट प्रधानमन्त्री परिवर्तन गरिरहँदा एकथान संविधान दिन सकेन । दोश्रो संविधानसभा (२०७०) मा नेपाली काँग्रेस ठूलो पार्टी भएसँगै तत्कालिन पार्टी सभापति एवं प्रधानमन्त्री स्वर्कीय सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण भई लामो समयदेखि संक्रमणकालिन अवस्थामा गुज्रिएको देशले राजनीतिक निकास पायो । जुन उपलब्धिलाई काँग्रेसले पूँजीका रुपमा आत्मसाथ गर्नुको साटो सुशील कोइरालाको देहवशानपछि काँग्रेस नेतृत्वले सुशील कोइरालाको नामैसमेत लिन चाहेन । र सुशीलको नामसमेत उच्चारण गर्न चाहेन । यो नेतृत्वको पूर्वाग्रहपूर्ण रबैया थियो । जसले काँग्रेसलाई खुम्च्याउन मात्र मद्दत ग-यो । काँग्रेसको १३ औं महाधिवेनबाट जब शेरबहादुर देउवा पार्टी नेतृत्वमा आए त्यसपछि उनको ध्यान पार्टीका भातृ संस्थालाई अधिवेशन गराएको बहानामा झेलझाल गरी जसरी पनि तिनलाई कब्जा गर्नुमा केन्द्रित रहे । जसले गर्दा योग्य र समक्ष, लामो समयदेखि संगठन र सडकको नेतृत्व गरेर आएका युवा विद्यार्थीहरु कोपभाजनमा परे । योग्य नेतृत्वको खडेरी पर्नाले भातृ संगठनले आफ्ना गतिविधिलाई जनतामा लानै सकेनन् । तरुण दलजस्तो भातृ संगठन जम्मा पाँच जनाले चलाइरहेका छन् । केन्द्रीय समितिले पूर्णता पाएको छैन । पार्टी पदाधिकारी र विभागहरुले महाधिवेशन सकिएको तीन महिनाभित्र पूर्णता पाउनुपर्नेमा अझैसम्म लथालिंग अवस्थामा छन् । युद्धका समय काम नलागेको हतियार र निर्वाचनका समयमा खपत नगरिएका कार्यकर्ताको के अर्थ ?
प्रधानन्यायाधीश प्रकरण
पार्टी प्रचण्ड नेतृत्वमा सत्तामा सवार भइसकेपछि र पछिल्लो समय सभापति आफैं प्रधानमन्त्री बनेपछि सरकारबाट भए÷गरेका कामहरुको समीक्षा कहिल्यै गरिएन । प्रधानन्यायाधीश सुशीला कार्की (जो स्वयं प्रजातान्कि आन्दोलनमा महत्वपूर्ण योगदान गरेकी र काँग्रेस पृष्ठभूमिकी हुन) जसमाथि अकारण संसदमा महाअभियोग प्रस्ताव ल्याउँदै गर्दा लोकले स्वतन्त्र न्यायपालिकाको वकालत गर्ने काँग्रेसको यो रबैलायाई ‘कुरीकुरी’ गरेको नेतृत्वले पत्तै पाएन ।
आईजी प्रकरण
प्रहरी/प्रशासनजस्तो मुलुकको सुरक्षाको मुख्य जिम्मेवारी लिएको संगठनलाई काँग्रेस समावेश भएको र गृह मन्त्रालय सम्हालेका बेला आर्थिक वा अन्य चलखेल गरी सिंगो संगठनलाई कमजोर पार्ने काम गरियो । कानुनले निर्धारण गरेको योग्यता र विधिविधानलाई लात हानेर जे गर्न खोजियो भन्ने बाहिर चर्चापरिचर्चा भयो त्यसले काँग्रेसीजनको शिर झुकाउने काम ग-यो । जसमा नेतृत्व जुँगामा ताउ लागेर मात्र बसेन, पार्टी कार्यकर्ता र जनमतको हुर्मत लिने गरी प्रहरी महानिरीक्षक नियुक्त गरियो । जुन प्रकरणले काँग्रेस जनतामा बदनाम भयो । नवराज सिलवालमाथि अन्याय भएको समाजले ठान्यो । त्यही ‘अन्याय भयो’ भन्ने जनताको सहानुभूतिको सिन्दुर पहिरिएर सिलवाल सांसद निर्वाचित भए । सिलवालको जितसँगै काँग्रेसमा धेरै आशा गरिएका र सम्भावना बोकेका नेता उदयशमशेर राणाले पराजय भोग्नुप-यो ।
राजदूत प्रकरण/स्थानीय निर्वाचन
काँग्रेस सरकारमा भएकै बेला मन्त्रीदेखि राजदूतसम्मका पदहरु बिक्रिका लागि पसलमा राखियो भन्ने चर्चापरिचर्चाले काँग्रेसलाई थप बदनाम गरायो । यी यावत टिप्पणीमा नेतृत्वले जनमानसलाई भरपर्दो जवाफ दिन सकेन । स्थानीय निर्वाचनमा पार्टीमा लामो समय योगदान गरेका, योग्य र सक्षम स्थानीय नेतालाई टिकट दिनुको सट्टा को कुन व्यवसायमा संलग्न छ र उसको आर्थिक हैसियत मापन गरी टिकट वितरण गरियो । बाँकी रहेका आफ्ना गुटगत आफन्तलाई टिकट दिइयो । जसले पार्टी स्थानीय तहमा नराम्ररी पछारियो । केन्द्रीय संसद र प्रदेशसभाको निर्वाचनमा पनि टिकट वितरणमा त्यस्तै भयो । आफन्त, आसेपासे, पार्टीमा पटकपटक अवसर लिएका, जनताले नरुचाएका पुराना अनुहार र हुँदाहुँदा कुटनीतिज्ञका रुपमा देशको प्रतिनिधि भएर विदेशिएकादेखि मानव अधिकारको खोल ओढेर राजनीतिक रोटी सेक्न उद्धतहरुले सम्म टिकट हत्याउन भ्याए । जसले काँग्रेस देशभरबाट पराजित भएको छ र आजको यो परिणाम भोग्दैछ । वर्तमान नेतृत्व र पटकपटक जनतामा परीक्षण भइसकेका अनुहारलाई जनताले पत्याएनन् । वर्तमान नेतृत्वबाट राजनीतिक मूल्यमान्यता, नैतिकता, र इमानजमानको आशा सायदै कसैलाई छैन । जुन सबैभन्दा डरलाग्दो कुरा छ । अक्सर दुनियाँमा पारिवारिक ‘लिगेसी’ ले राजनीतिमा ठुलै भरथेग गर्दै आएको छ । तर एउटा पुस्ताको अन्त्यपछि मात्र अर्को पुस्ता राजनीति वा शक्तिमा अवतरण हुँदा स्वभाविक मानिन्छ ।
अमेरिकामा बिल क्लिन्टनको युग सकिएपछि मात्र हिलारीले राजनीतिमा पाइला टेकेकी हुन् । पाकिस्तानमा जुल्फिकर अली भुट्टोको हत्यापछि मात्र छोरी बेनजीर राजनीतिमा उदाइन् । यस्ता उदाहारणका लागि टाढा जार्नेपर्दैन, नेपालकै उदाहरण काफी छ । मदन भण्डारी जिवित छँदा विद्यादेवी भण्डारी गृहणी र मदनकी सहयोगीका रुपमा मात्र सीमित थिइन् । मदनको अकल्पनीय निधनसँगै उनी राजनीतिमा उदाइन र त्यसलाई समाजले स्वीकार मात्र गरेन सम्मान पनि ग¥यो । भारतीय काँग्रेस आईमा सोनिया गान्धी अध्यक्ष हुँदाकै बखत छोरा राहुलले राजनीतिमा रहर गरे । काँग्रेस आई करिब बढारियो । काँग्रेसभित्र एक किसिमको पारिवारिक राजनीतिले काँग्रेसलाई यो अवस्थामा पुग्न योगदान गरेको छ । कतिका श्रीमान प्रत्यक्ष, श्रीमती समानुपाकि उम्मेदवार छन् । कतिका बाबु÷छोरा, कसैका दाजु÷भाई, कसैका काका÷भतिजा, कसैका गर्ल फ्रेण्ड उम्मेदवार छन् । बाँकी रहलपहल गुट विशेष, राजनीतिक पृष्ठभूमि नभए पनि आर्थिक अवस्था बलियो भएका आधारमा टिकट वितरण गरिनुको दुस्परिणाम हो यो । पुरानो पुस्ताको अयोग्यता, अक्षमता, अदुरशर्दिता र द्रब्यमुखि प्रवृत्तिको दुस्परिणम काँग्रेसको नयाँ पुस्ताले भोग्नुपर्ने भएको छ ।
कस्तो हुनुपर्छ अबको काँग्रेस ?
विगतमा ठूल्ठूला व्यवस्था परिवर्तनका आन्दोलनको नेतृत्व गरेको संस्थापक नेता बिपी कोइरालाको नाम भजाएर मात्र अब काँग्रेसले मुलुकको नेतृत्व लिन सक्दैन । आमनेपालीका लागि रहर लाग्दो पार्टी र भर लाग्दो नेता बन्न र बनाउन नयाँ पुस्ताले अब ठूलै कसरत गर्नुपर्नेछ । विशेषतः नेतृत्वमा रहेका वर्तमान अनुहारबाट यो सम्भव छैन । नयाँ काँग्रेस निर्माणका लागि नहाँ अनुहार, नयाँ सोच, नयाँ कार्यक्रम चाहिन्छ । तब मात्र काँग्रेसले पुनर्जीवन पाउन सक्छ । यो सम्भव पनि छ ।
(दाहाल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन् ।)