जीवन रहे मात्र जागिर र व्यवसाय रहने हुदाँ सचेत बनाैं, जेल हाल्ने स्थिति नहाेस् : सिडिओ पाण्डे

आइतवारबाट २ साताका लागि कार्यालय सट डाउन गर्ने उपत्यकाका तीनैवटा जिल्लाका सिडिओहरु सम्मिलित बैठकले निर्णय गरेपछि मानिसहरु तरंगित बनेका छन् । खासगरी निजी क्षेत्रका ब्यवसाय र कार्यालयहरु बन्द हुने वा नहुने भन्ने जनचासोको विषय बनेको छ ।

भक्तपुरकी सिडिओ हुमकला पाण्डेले बताए अनुसार कोभिड १९ संक्रमणको जोखिम कार्यालयहरुमा बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको हो । उनका अनुसार निजी क्षेत्र पनि जोखिमबाट अछुतो छैन । निजी क्षेत्रले पनि कोभिड १९ को संक्रमण रोक्न कार्यालयहरु खोल्न नहुने उनको सुझाव छ । तर,  निजी क्षेत्रलाई सट डाउनका लागि कुनै बाध्यात्मक व्यवस्था भने गरिएकाे छैन । ”निजी क्षेत्रलाई सट डाउनका लागि कुनै बाध्यात्मक व्यवस्था छैन यदि जोखिम महसुस भएको छ भने बोर्ड, संचालक अथवा कार्यालय प्रमुखले सेवा बन्द गर्नु बुद्धिमानी हुन्छ ।” उनले बताइन् ।

उपत्यकाका तीनैवटा सिडिओ कार्यालयहरुले दुई साताको लागि सामान्य सेवा बन्द गरेको जानकारी गराउदै सिडिओ पाण्डेले अन्य सरकारी कार्यालयहरुले पनि अत्यावश्यक सेवा बाहेकका सामान्य सेवा बन्द गर्ने बताइन् । उनका अनुसार सरकारी कार्यालयका सेवा बन्द भएपछी निजी क्षेत्र पनि स्वत प्रभावित हुन्छन र उनीहरुका धेरै काम रोकिन्छन् । यसर्थ, निजी क्षेत्रबाट संचालित व्यवसाय तथा कार्यालयहरुले पनि सेवा बन्द गर्दा उत्तम हुने उनको सुझाव छ ।

प्रजिअ पाण्डेले आफूहरुले सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन पालना गरे/नगरेको ब्यापक अनुगमन गर्नेसमेत बताइन् । सटडाउनमा मास्क नलगाउने, सामाजिक दूरी कायम नगरी भीडभाड गर्ने र असुरक्षित तवरले निजी कार्यालय र व्यवसाय चलाउनेलाई कडा कारवाही गर्ने जानकारी गराइन् ।

”लकडाउनले निजी क्षेत्रलाई असर गरेको छ तर यसो भन्दैमा हामी भावनामा बग्नु हुँदैन । संक्रामक रोगको रुपमा बिश्वब्यापी महामारीको रुपमा आएको कोभिड १९ प्रकोपबाट पिडित अन्य राष्ट्रहरुबाट हामीले पाठ सिक्नुपर्छ । जीवन रहे मात्र जागिर र व्यवसाय रहने हो ।” प्रजिअ पाण्डेले प्रष्ट पारिन् ।

स्वास्थ्य सुरक्षा सम्बन्धी सरकारी निर्देशन नमान्नेहरुप्रति कठोर भएर कारवाही गरिने उनले जिकिर गरिन । संक्रामक रोग नियन्त्रण ऐन अनुसार उनीहरु उपर १ सय रुपैया जरिवाना, १ महिना कैद वा दुवै सजाय हुनसक्ने प्रजिअ पाण्डेले जानकारी दिइन् ।

”जनता सचेत नहुने हो भने कोभिड १९ नियन्त्रण गर्न सकिदैन । अटेरी गर्नेलाई हामी जेल हाल्छौं ।” उनले भनिन् । आफूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र अरुलाई पनि पालनाका लागि प्रेरित गर्न अपिल गर्दै प्रजिअ पाण्डेलेले कोभिड १९ बिरुद्धको लडाईमा सबैको साथ आवश्यक रहेको बताइन् ।

चैत ११ बाट भएको लक डाउन साउन ७ मा खुलेसंगै कोभिड १९ संक्रमण दर बढ्दै गएको देखिन्छ । यसकाकारण देशभर २२ हजार बढी संक्रमित भएका छन् जसमध्ये ७0 जनाको ज्यान गैसकेको अवस्था छ । पछिल्लो समय उपत्यकामा कोभिड १९ को उच्च जोखिम देखिएको छ । उपत्यकामा शुक्रवार एकैपटक १२४ संक्रमित थपिएका छन् । यो संगै कूल संक्रमित संख्या ९८२ जना पुगेको छ जसमा सक्रिय संक्रमित अर्थात, उपचार गराइरहेकाको संख्या ६४६ छ ।

भक्तपुरमा हालसम्म कूल ८२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ३२ जनामा अझै संक्रमण कायमै छ ।

Loading...