आफैंले हेर्नेगरी अनलाइन उजुरी प्रणाली ल्याउने भक्तपुरका नयाँ सिडिओ पाण्डेको योजना

भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले जिल्लामा शान्ति सुरक्षा, सुशासन र नागरिक सहभागिताको सुनिश्चितताका लागि विशेष योजना सार्वजनिक गरेका छन्।

बिहीबार जिल्लाका पत्रकारहरूसँगको भेटमा उनले जनगुनासो प्रभावकारी रूपमा सम्बोधन गर्न अनलाइन उजुरी प्रणाली विकास गर्ने बताएका हुन् ।

उनका अनुसार अब सेवा लिने नागरिकहरूले क्युआर कोड स्क्यान गरेर सिधै सिडिओ कार्यालयमा उजुरी दिन सक्नेछन्। उजुरीहरू आफूले नै हेरेर सम्बोधन गर्ने स्पष्ट योजनासमेत उनले प्रस्तुत गरे।

सार्वजनिक सुनुवाइ पारदर्शी, जवाफदेही र प्रभावकारी हुनुपर्ने बताउँदै उनले भने, “जनमानसलाई जानकारी नदिई गरिने सुनुवाइ स्वीकार्य हुँदैन। त्यसकारण सार्वजनिक सुनुवाइका नाममा हुने अपारदर्शिताको अन्त्य गरिन्छ।”

प्रजिअ पाण्डेले प्रत्येक तीन महिनामा सम्बन्धित कार्यालय प्रमुखहरूसहित नगरपालिकामा पुगेर सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने र त्यहाँ उठेका जनगुनासोहरू तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

उनले हिंसा, लागू औषध कारोबार, चोरी, ठगी र कालोबजारी नियन्त्रणका लागि सञ्चारकर्मीहरूको सहयोग अपेक्षा गरे। अपराध नियन्त्रणका लागि सूचना आदानप्रदानलाई प्राथमिकतामा राख्ने बताएका उनले भने, “मिडियाको साथ आवश्यक छ, नागरिकको सुरक्षाका लागि तपाईहरूको सूचना महत्त्वपूर्ण हुन्छ ।” 

वर्षायाममा उत्पन्न हुने सम्भावित प्राकृतिक विपद्‌बारे समेत योजना सुनाउँदै उनले जोखिमयुक्त क्षेत्रको पहिचान, नदीको बहावबारे समयमै सतर्कता दिने प्रणाली र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने काम अघि बढाउने बताए।

त्यस्तै, भक्तपुरमा बढ्दो अनियन्त्रित प्लटिङप्रति गम्भीर देखिँदै उनले अवैध प्लटिङमा रोक लगाइने र वैध प्लटिङहरूमा समेत वर्षायामभर निर्माण कार्य रोक्न निर्देशन दिने बताए।

सिडिओ पाण्डेले जिल्लाको समग्र शान्ति सुरक्षा, सुशासन र सेवा प्रवाहमा पारदर्शिता ल्याउन सञ्चार क्षेत्रको सक्रियता र साझेदारी अपरिहार्य रहेको धारणा पनि राखे।

गृह मन्त्रालयका सहसचिव पाण्डेले तीनदिन अघि मात्र भक्तपुर सिडिओको जिम्मेवारी सम्हालेका हुन् । 

राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुख रहेका अनुसन्धान निर्देशक टेकराज तिमल्सिना र नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारले कार्यक्रमको संयोजन गरेका थिए ।

सो अवसरमा जिल्लास्थित समस्या र समाधानका उपायबारे अनौपचारिक छलफल भएको थियो ।