काठमाडौं विश्वविद्यालयमा चरम अनियमिता, नियमविपरित असिसटेन्ट प्रोफेसरको नियुक्ति

उपकुलपति, रजिस्ट्रार र डिनको मनपरी विरुद्ध सूचना आयोग र अख्तियार अनुसन्धान आयोगमा समेत उजुरी

काठमाडौं, १५ साउन । काठमाडौँ विश्वबिद्यालयका पदाधिकारीहरुले आफ्नो पदको दुरुपयोग गर्दै प्रोफेसरहरु नियुक्त गर्ने गरेको थाहा भएको छ । विश्वविद्यालयको नियम मिचेर आफ्नो पदीय अधिकारको दुरुपयोग गर्दै उपकुलपति रामकण्ठ माकाजु, रजिस्ट्रार सुबोध शर्मा र स्कूल अफ आर्ट्सका डिन सागर शर्माले मिलेमतोमा यस्ता काम गर्ने गरेका हुन् ।

नियम विपरित उनीहरुको मिलेमतोमा अपारदर्शी तरिकाबाट स्कूल अफ आर्ट्स अन्तर्गत पत्रकारिता, विकास अध्ययन र पेंटिंङ विषयका असिसटेन्ट प्रोफेसरहरुको चयन गरी नियुक्ति दिइएको छ । यसरी पदाधिकारीहरुले नै नियम मिचेर अपारदर्शी तरिकाले नियुक्ति दिइएपछि त्यसका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । साथै यसबारे विश्वविद्यालयमा सूचना माग गरी दिएको निवेदन समेत वेवास्ता गरिएपछि राष्ट्रिय सूचना आयोगमा समेत उजुरी परेको छ ।

विश्वविद्यालयले स्कूल अफ आर्ट्स अन्तर्गत पत्रकारिता, विकास अध्ययन र पेंटिंङ विषयका असिसटेन्ट प्रोफेसरहरुको चयन खुला प्रतियोगिता भनिए पनि आन्तरिक प्रतिस्पर्धीलाई अपारदर्शी तरिकाबाट नियुक्ति गरिएको हो । यस विषयमा सूचना माग्दा पनि विश्वविद्यालयले कुनै जवाफ दिएको छैन । यसअघि लक्ष्मणदत्त पन्तले निवेदन दिएर नतिजाबारे जानकारी मागेका थिए । उनले स्कूल अफ आर्ट्सअन्तर्गत बिज्ञापन नम्बर ०३/०७५/०७६ शीर्षकमा मिति २०७६ असार २७ मा सार्वजनिक गरिएको नतिजा कुन आधारमा गरिएको, विश्वबिद्यालयको नियम के छ, लिखित परिक्षा, पर्फर्मेन्स टेस्ट र अन्तर्वार्तामा गरी प्रतिस्पर्धी उम्मेदवारले जम्मा कति अंक प्राप्त गरे, त्यसैगरी वैकल्पिक उम्मेदारको कति अंक आयो, पत्रकारितामा बैकल्पिक उम्मेदवार किन राखिएन लगायतका सूचना माग गरी गत असर ३० गते विश्वविद्यालयका सूचना अधिकारी रजिस्ट्रार सुबोध शर्मासँग निवेदन दिएका थिए । तर, विश्वविद्यालयले उक्त निवेदनलाई पूरै वेवास्ता गर्नुले पनि उल्लेखित विषयका नियुक्तिहरू नियम संगत नभएको आशंका गरिएको छ ।

यी पदहरुमा नियुक्ति गर्दा प्रचलित कानुन र नियमको समेत विश्वबिद्यालयका अधिकारीहरुले उल्लङ्घन तथा पदको दुरुपयोग गरेको पाइएको छ । विश्वबिद्यालय नियमानुसार मुल्याङ्कन बिज्ञमा विश्वविद्यालय अनुदान आयोगको एकजना सदस्य राखिनुपर्नेमा विश्वबिद्यालयले उल्लेखित विषयहरुको मुल्याङ्कन बिज्ञमा आयोगको सदस्य राखेको छैन । त्यसैगरी कुनै पनि विषयमा दुईजनासम्म प्रतिस्पर्धी भए वैकल्पिक उम्मेदवार छनौट गर्नुपर्नेमा पत्रकारिता विषयमा त्यस्तो पनि गरिएको छैन । आफु अनुकूलका व्यक्तिहरु राख्न उपकुलपति र रजिस्ट्रारलाई गलत रिपोर्टिंङ गरी डिन सागर शर्माले अख्तियारको चरम दुरुपयोग गरेको स्रोतको दावी छ ।

डिन शर्माले यसअघि आफैले नियमविपरित विना विज्ञापन करारमा राखेका व्यक्तिलाई नै यी पदहरुमा नियुक्ति गर्न दवाब दिएको बुझिएको छ ।

सूचना माग गर्ने निवेदक लक्ष्मणदत्त पन्तले आफूले माग गरेको सूचना विश्वविद्यालयले उपलब्ध नगराएको बताएका छन् । उनले अब राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्ने तयारी गरिरहेको पनि जानकारी गराए । उक्त विज्ञापनमा पन्त पनि प्रतिस्पर्धी रहेका थिए । यसअघि नै पन्त र अर्का प्रतिस्पर्धी डा. महेन्द्र सापकोटाले नियुक्तिहरूमा भ्रस्टाचार र पदको दुरुपयोग भएका दावी गर्दै त्यसमा संग्लनलाई कारवाहीको माग गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी गरिसकेका छन् ।

दुई वर्षअघि पनि यसैगरी खुला विज्ञापन गरेर विश्वविद्यालयका पदाधिकारीको अग्रिम सेटिङ बमोजिम नै पत्रकारिता विषयका असिस्टेन्ट प्रोफेसरहरुको नियुक्ति गरिएको थियो । बिज्ञ बस्न भन्ने तर आफु अनुकूलको व्यक्तिको प्राप्ताङ्क कम आए पुन हेरिदिनुस न भनि दबाब आउने गरेको एक बिज्ञले बताए ।

अहिलेका पदाधिकारीको नातावाद, कृपावाद र मनपरीका कारण राम्रो भनेर प्रचारबाजी गरिएको काठमाडौं विश्वविद्यालयको साख दिनप्रतिदिन गिर्दो छ । प्रतिस्पर्धाबाट जनशक्ति नियुक्ति गर्न विश्वविद्यालय जस्तो संस्थामा सेवा आयोग समेत छैन । सेवा आयोग नहुनुले यसको विश्वसनीयता र पारदर्शिता माथि प्रश्न उठाउने गरिएको छ । विश्वविद्यालयमा ल स्कूल अफ आर्ट्स शुरु भएयता त्यस स्कूललाई चाहिने जनशक्तिको खुला विज्ञापन गरिए पनि हालसम्म कुनै पनि खुला प्रतिस्पर्धीलाई चयन गरिएको छैन । यी सबै घटनाक्रमले काठमाण्डौं विश्वविद्यालयभित्र हुने गरेको अपारदर्शी नियुक्ति, पदको दुरुपयोग र भ्रस्टाचार पुष्टि गर्दछ ।

Loading...