
ललितपुर, ४ साउन । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा “शिक्षा प्रणाली प्रयोगशाला (आईल्याव)” को तेस्रो चरण सुरु भएको छ।
यस परियोजनाको उद्देश्य नेपालका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रका नीतिगत तथा व्यावहारिक चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू कार्यान्वयनमा ल्याउनु हो। सन् २०२३ देखि सञ्चालनमा आएको यो प्रयोगशाला ६ महिनासम्म सञ्चालन हुनेछ।
आईल्यावमा उद्योग, शिक्षालय, स्थानीय पालिका, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधिहरूको सहभागिता रहेको छ। गोदावरीमा आयोजना गरिएको दुई दिने कार्यशालाको दोस्रो दिन कुसोडका सहायक डीन डा. प्रकाश चन्द्र भट्टराईले प्रदेशगत रूपमा ६ देखि ८ सदस्य सम्मका समूहहरूबीच प्रतिस्पर्धा हुने जानकारी दिएका छन्। छनोटमा परेका समूहले आ–आफ्नो कार्यक्षेत्रमा लागू गर्न मिल्ने योजना प्रस्तुत गर्नेछन्। ती योजनामा छलफल गरी कार्यान्वयन गरिने छ।
कार्यशालामा लुम्बिनी प्रदेशसभा सदस्य हेम बेल्वासे के.सी.ले प्राविधिक शिक्षामा स्पष्ट नीति र दीर्घकालीन योजना अभाव रहेको उल्लेख गर्दै परियोजनाले बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्ने बताइन्। रुपन्देहीको उद्योग क्षेत्रमा विदेशी अदक्ष जनशक्ति देखिँदा सोको परिपूर्ति गर्न परियोजना उपयोगी हुने धारणा व्यक्त गरिन्।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले परियोजनाले पछाडि पारिएका तथा सीमान्तकृत समुदायको क्षमता अभिवृद्धिमा टेवा पुर्याउने जनाएका छन्। तालिम दिएर गाउँघरमै उद्यमशील जनशक्ति तयार गर्ने योजना रहेको उल्लेख गरेका छन्।
गोकर्णेश्वर नगर प्रमुख दीपककुमार रिसालले विदेश जाने युवा समस्याको दीर्घकालीन समाधान सीपयुक्त रोजगारी र उद्यमशीलता विकासमा रहेको बताए। गोकर्णेश्वर नगरपालिकाले ‘मिशन रोजगारी’ अभियानअन्तर्गत धुप बनाउने तालिम सञ्चालन गरी स्वदेशी श्रम र सीपको प्रयोग बढाएको जानकारी दिए। साथै, छ महिनाभित्र इभी मर्मत तालिम प्रदान गरी प्रशिक्षित जनशक्ति तयार गर्ने योजना रहेको बताए।
कार्यशालाको दोस्रो दिन डा. महेशनाथ पराजुलीले मानव सभ्यताको विकास सिकाइ प्रक्रियाबाट भएको उल्लेख गर्दै प्रारम्भिक शिक्षा प्रणालीमा सीप र शास्त्र दुवैलाई समेट्नुपर्ने बताए। उनले शिक्षा प्रणाली समावेशी र पहुँचयुक्त हुनुपर्नेमा जोड दिँदै यो परियोजना प्रतिवेदनमा सीमित नरही दीर्घकालीन सुधारको माध्यम बन्नुपर्ने बताए।
प्राविधिक शिक्षा स्नातकोत्तर तहका सम्पर्क व्यक्ति डा. प्रकाश कुमार पौडेलका अनुसार परियोजनामा प्राविधिक शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरू र सम्बन्धित सरोकारवालाहरू सहभागी छन्।
उद्घाटन समारोहमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले श्रमिकप्रतिको सम्मान र देशप्रतिको प्रेम अभिवृद्धि गर्ने शिक्षा प्रणाली आवश्यक रहेको बताए।
कार्यशालामा सहभागीहरूले प्राविधिक शिक्षा सबै वर्गका लागि आर्थिक रूपमा पहुँचयोग्य हुनुपर्नेमा जोड दिँदै कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता र सामाजिक स्वीकार्यता आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।







