लेखा अधिकृत घुस रकमसहित अख्तियारको फन्दामा

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी गर्नुपर्ने बिल रकम पारित गराउने क्रममा रिसवत लिएको र सो रकम आफ्नो कार्यकक्षमै लुकाइराखेका थिए।

सूचना र उजुरीको आधारमा टंगालस्थित अख्तियारको टोलीले शुक्रबार छापा मारी दाहाललाई रु. १ लाख २० हजार ८ सय ५० रुपैयाँ नगद, एक थान मोबाइल फोन र सम्बन्धित कागजातहरू सहित नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्र प्रसाद पौडेलले पुष्टि गरे ।

 “लेखा अधिकृत दाहालविरुद्ध प्राप्त प्रमाण र वस्तुगत तथ्यका आधारमा थप अनुसन्धान जारी छ।” प्रवक्ता पौडेलले भने ।

घटनापछि वीर अस्पतालको प्रशासनिक शाखामा हलचल मच्चिएको छ भने अख्तियारले सार्वजनिक निकायमा भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर अभियान जारी रहने जनाएको छ ।