जग्गा पास गर्न घुस मागेका मालपोत अधिकृत रङ्गेहात अख्तियारको फन्दामा

पाेखरा, ४ भदाै । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाइ घुस लिइरहेकाे अवस्थामा पक्राउ गरेको हाे ।

कुँवरले सेवाग्राहीबाट ५९ हजार घुस लगेका थिए । जग्गाकाे रजिष्ट्रेसन पास गर्न उनले उक्त रकम मागेकाे बताइएकाे छ । रजिष्ट्रेशन पास गर्नका लागि मालपाेत कार्यालयमा गएका ती सेवाग्राहीलाइ कुँवरले विभिन्न बाहना पार्दै काम अड्काएका थिए । नियमअनुसार चाहिने सबै कागजात र प्रमाणहरु सम्लग्न गर्दा पनि कुँवरले वाहानावाजी गरेपछि अन्तत: घुसकाे कुरा खुलेकाे बताइएकाे छ ।

मालपाेत अधिकृत कुँवरले ठूलाे रकम मागे पनि अन्तत: ५९ हजारमै कुरा मिलेकाे थियाे । तर, ती सेवाग्राहीले कुँवरले अाफूले सबै कागजात पेश गर्दा पनि काम नगरेर घुस मागेकाे सूचना अख्तियारलाई जानकारी गराएका थिए ।

उनले दिएकाे सूचनाका आधारमा अख्तियारको टाेली खटेकाे बताइएकाे छ । साेही याेजना अनुसार उनलाइ पोखराकाे मुस्ताङ चाेकबाट सेवाग्राहीसँग भर्खरै लगेकाे ५९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएकाे अख्तियार स्राेतले जनाएकाे छ ।

Loading...