अख्तियारको कर्मचारी भन्दै सरकारी कर्मचारीलाई ठग्दै हिड्ने एकजना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिडेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त आरोपमा मोहन कोइरालालाई पक्राउ गरेको हो ।

चितवन घर भई नेपालगञ्ज बस्ने कोइरालाले सरकारी कार्यालयका प्रमुखहरुलाई नै अख्तियारको कर्मचारी भन्दै ठग्ने र लाभ लिने गरेको प्रहरीको भनाइ छ । बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा पुगेर एक व्यक्तिले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठग्ने र लाभ लिने गरेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेले उनको खोजी गरिरहेको थियो । खोजतलास र निगरानी गर्दै जाँदा कोइराला पक्राउ परेका प्रहरीले पुष्टि गरेको हो ।

कोइरालाबाट ठगिएका भए जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिन समेत अनुरोध गरिएको छ ।

Loading...