नेपालको विपत्तिमा भारत दुःखी

काठमाडौ । नेपालमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपत्तिको यस कठिन समयमा भारत सरकार र भारतीय जनता नेपालको साथमा रहेको बताएका छन्।

प्रधानमन्त्री बालेन्द्र साहसंग टेलिफोन संवाद गर्दै मोदीले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपालीप्रति समवेदना प्रकट गरेका हुन्।

मोदीले प्राकृतिक विपत्तिको सामना गरिरहेको नेपाललाई भारतले सक्दो मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

“यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथ उभिएका छौँ,” मोदीले भने ।

उनले नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा भारतीय पक्षका टोलीले नजिकबाट समन्वय गरिरहेको जानकारीसमेत दिएका छन्। आवश्यकताअनुसार भारत सरकार नेपाललाई सम्भव भएसम्मको सहयोग उपलब्ध गराउन तयार रहेको मोदीले स्पष्ट पारेका छन्।

मोदीले नेपालमा बाढीका कारण प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामनासमेत गरेका छन्।