खोटाङ, ९ साउन । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेर नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका दुई वडाध्यक्षसहित सबैलाई अपराह्न ४ बजे नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नगर समिति अध्यक्ष सुरेन्द्रकुमार राईको जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । नगरप्रमुखविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेर दिक्तेल–हलेसी सडकखण्डको दुर्छिममा चक्काजाम गराउन बसेका वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य निरजमानसिं बस्नेतसहित छ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुसँगै चक्काजाम गराउन बसेका नेकपाका हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडा समिति सचिव धनकुमार भुजेललाई समेत प्रहरीले पक्राउ गरेको थियो । चक्काजाम गराउन बसेका दुई वडाध्यक्षसहित छ नेकपाका कार्यकर्ता पक्राउ परेपछि दिक्तेल–हलेसी सडकखण्ड तनावग्रस्त बनेको थियो ।
उनीहरु पक्राउ परे पनि आन्दोलनमा सहभागी अन्य दुई वडाध्यक्षसहित स्थानीयवासीले दोस्रो चरणअन्तर्गत च्यस्मिटारमा दिउँसो १ बजेदेखि २ बजेसम्म एक घण्टा चक्काजाम गरेका थिए । नगरप्रमुख राईले नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले नगरसभा गरेको आरोपसहित वडाध्यक्षसहित २६ सदस्यले आन्दोलन शुरु गरेका हुन् ।
उनीहरुले स्थानीयवासीलाई समेत सहभागी गराएर मङ्गलबार नगरप्रमुखविरुद्ध नाराजुलुस गर्दै एक घण्टा दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । उनीहरुले आर्थिक वर्ष २०७४/७५ को महालेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राख्दै आएका छन् ।
नगरप्रमुखदेखि रुष्ट बनेका उनीहरुले सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, नगरबाट सञ्चालित योजनालाई आफ्ना कार्यकर्ता लक्षित गरिएकोलगायतका आरोप लगाएका छन् । नगरप्रमुख राईले भने वडाको सिलिङमा उल्लेख भएअनुसारको योजना हुबहु पास गरिएकाले विरोध गर्नुको औचित्य नभएको बताएका छन ।
नगरप्रमुख इवन राई र उपप्रमुख विमला राई नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका हुन् । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको उक्त नगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ । दुई वडाध्यक्षसहित छ पक्राउ परेपछि नेकपाको हलेसी नगरसमितिको आकस्मिक बैठकले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेकोप्रति आपत्ति जनाएको थियो । उनीहरुले विज्ञप्ति जारी गर्दै प्रहरी हस्तक्षेपमा परेका सबै जनालाई बिनासर्त रिहाइ गर्न माग गरेका थिए ।