सडक मानवका लागि नन् स्टप मिडियाको रु २५ हजार सहयोग, सेवाघर बनाउन जुट्यो ८० लाख बढी रकम

नवराज काफ्ले, भक्तपुर । गाँस र बास खोज्दै सडकमा बेवारिसे जीवन बिताउन बाध्य बेसहारा सडक मानवलाई सेवाघर बनाउने पवित्र उदेश्यका लागि नन् स्टप मिडिया प्रालिले २५ हजार ५ रुपैयाँ प्रदान गरेको छ । सो प्रयोजनका लागि भक्तपुरको राधेराधेमा मानव कल्याण समाजले आयोजना गरेको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको अवसरमा २५ हजार ५ रुपैयाँ प्रदान गरिएको हो ।

नन् स्टप मिडियाका सञ्चालक एवं नन् स्टप खबर डटकमका सम्पादक संजीप घिमिरे शुभचिन्तकले सो रकम आयोजकलाई हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष समेत रहेका घिमिरेले मानव सेवा नै माधव सेवा भएकोले आफ्नो खर्च कटौती गरेर दान दिएको बताए ।

सप्ताह र महायज्ञको नाममा धर्मको ब्यापार गर्ने र आयोजकले धर्मलाई कमाइ खाने भाडो बनाउने प्रवृत्तिले यो क्षेत्र बदनाम बन्दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै घिमिरेले मानव कल्याण समाजले प्राप्त दानको सदुपयोग गर्ने बिश्वास ब्यक्त गरे । उनले त्यसका लागि सबैको निगरानी र खबरदारीमा पनि जोड दिए ।

राधेराधेमा सम्पन्न सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ अनुष्ठानबाट ८० लाख ४३ हजार ७ सय १६ रुपयाँ रकम संकलन भएको आयोजक समितिका कोषाध्यक्ष नरेश रन्जितले बताएका छन् ।

महायज्ञको सम्पूर्ण खर्च कटौती गरी ५५ लाख २५ हजार १६ रुपयाँ वचत गर्न सकिएको उनले बताए ।

मानव कल्याण समाज सेवा घरकी संस्थापक अध्यक्ष सुमी मानव आफैले सप्ताहमा कथावाचन गरेकी थिइन् ।

कथावाचिका सुमी मानवले महायज्ञबाट कुनै किसिमको पारिश्रमिक नलिएकी र भक्तजनहरुबाट चढाईएको भेटी र आयोजकबाट प्राप्त दक्षिणा गरि १ लाख ७६ हजार आयोजक संस्थालाई नै हस्तान्तरण गरेकी आयोजक समितिका सचिव बेदप्रसाद खरेलले बताए ।

झण्डै ४ हजार भन्दा बढीको सहभागीता रहेको महायज्ञमा जनप्रतिनिधिहरुको विशेष समर्थन र सहयोग रहेको र सेवाघरका लागि जग्गा उपलब्ध गराउने मेयरहरुले आश्वासन समेत दिएका आयोजक समितिमा समेत रहेका पूर्व नगर उपप्रमुख द्वय जुना बस्नेत र अन्जनादेवी मधिकर्मीले जानकारी दिए ।

 एक महिना भन्दा कम समयको तयारीमा गरिएको महायज्ञ भब्यढंगमा सम्पन्न भएको भन्दै सह संयोजक मधु ढुङ्गेलले सन्तोष ब्यक्त गरेक्का छन् ।

महायज्ञमा स्थानीयको उत्साह र स्थानीय तहमध्ये चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले जग्गा व्यवस्थापनको जिम्मा लिएको आयोजक समितिका अध्यक्ष गोपीकृष्ण न्यौपानेले जानकारी गराए ।

त्यस्तै वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले संकलित दान बाट अपुग हुने रकम बागमती प्रदेश सरकारले ब्यहोर्ने बचन दिएको पनि अध्यक्ष न्यौपानेले बताए ।

वि.सं.२०७४ सालमा स्थापना भएको मानव कल्याण समाज सेवा घरले भक्तपुरको चाँगुनारायण-३ झौखेलमा ४० बढी सहयोगापेक्षी सडक मानवलाई जम्मा गरी आश्रय प्रदान गर्दै आएको समाजमा सचिव विजयकुमार पोख्रेलले बताए ।

भक्तपुरमा स्थापना भएको यो सामाजिक संस्थाले काठमाडौं, काभ्रे, बारा र दाङमा आफ्नो सेवा विस्तार गर्दै २ हजार १ सय भन्दा बढी सडक मानवको उद्धार गरिसकेको र कतिपयलाई परिवारमा पुनर्स्थापना गर्न पनि सफल भएको उनले जानकारी गराए । आफ्ना सेवा  केन्द्रहरुमा ५ सय भन्दा बढीले हालसम्म आश्रय पाइसकेका पनि सचिव पोख्रेलले प्रष्ट पारे ।

मानव कल्याण समाजको सेवा घर निर्माणका लागि सहयोग संकलन गर्ने मुख्य उदेश्य सहित भक्तपुरको राधेराधेस्थित यातायात कार्यालय संगै भएको सप्ताहब्यापी श्रीमद भागवत ज्ञान बिज्ञान महायज्ञ चैत अन्तिम साता सम्पन्न भएको थियो ।