झा नेतृत्वमा नेपाल भारत मैत्री संघ, सहअध्यक्षमा सुवेदी र वरिष्ठ उपाध्यक्षमा ढुङ्गेल

नेपाल भारत मैत्री संघमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाडौमा सम्पन्न नवौं केन्द्रीय सभा तथा महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

संघको अध्यक्षमा सुरेन्द्रमोहन झा निर्वाचित भएका छन् । उनी सप्तरीका हुन् । त्यस्तै सह अध्यक्षमा भने झापाका बोध कृष्ण सुवेदी निर्वाचित भएका छन् ।

अध्यक्ष झा निर्विरोध निर्वाचित भएका हुन् भने सह अध्यक्ष सुवेदीले बाँकेकी सुष्मा शर्मालाई १ सय २ मतान्तरले पराजित गर्दै बिजयी बनेका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष कमला ढुङ्गेलले बताइन् ।

भक्तपुरकी ढुङ्गेल आफैं पनि काठमाडौका डा टिका ढकाललाई १ सय ४३ मतान्तरले पछि पार्दै वरिष्ठ उपाध्यक्ष बन्न सफल भएकी हुन् ।

 मुख्य निर्वाचन अधिकृत मोहन प्रसाद पोखरेलले जनाए अनुसार प्रत्येक प्रदेश बाट एक-एक जना उपाध्यक्ष, महासचिव र सदस्य सहित ४२ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

नवनिर्वाचित कार्यसमितिले सोमबार पदभार ग्रहण समेत गरिसकेको बताइएको छ ।