उत्तरगङ्गाले बगाउँदा १ को मृत्यु, एक बेपत्ता

गलकोट, ९ साउन । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका भएर बग्ने उत्तरगङ्गा नदीले बगाउँदा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बुधबार दिउँसो ३ बजेको समयमा ढोरपाटन नगरपालिका–९ बस्ने नरबहादुर विक र सोही स्थानकै वर्ष २२ का सेते विक स्यालपाखेबाट नविगाउँ जान नदी तर्ने क्रममा उत्तरगङ्गाले दुवैलाई बगाएको थियो ।

नदीले बगाएकामध्ये नरबहादुरलाई मृतावस्थामा फेला पारेको र सेते हालसम्म बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए । घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ढोरपाटनको प्रहरी सहायक निरीक्षक शिवराज सुवेदीको संयोजनमा चार जनाको टोली, शत्रुमर्जन गुल्म ढोरपाटनका १५ सेनाको टोली र स्थानीयवासीले नदी वरपर खोजीकार्य गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मृतक परिवारलाई प्रशासनको राहत
 बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित ज्यामिरेमा मङ्गलबार बिहान पहिरोले गोठ पुर्दा ज्यान गुमाएकी सीता गौतमको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले एक लाख राहत रकम बुधबार घरमै पुगेर हस्तान्तरण गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङका नासु कृष्णप्रसाद शर्मा ढकालले मृतक गौतमका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरेको हो ।

अविरल वर्षाका कारण पहिरोले गोठ पुर्दा भँैसी दुहुँदै गरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको थियो । पहिरोले दुई भैँसी तथा एक बाख्रासमेत पुरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । मृतक परिवारलाई गलकोट नगरपालिकाले क्रिया खर्चवापतको २० हजारसमेत उपलब्ध गराउने निर्णय गरेको गलकोट नगरपालिका–८ का वडाध्यक्ष रामप्रसाद कँडेलले बताए ।

मृतकका पिता तोयनाथ गौतमको पहिले नै निधन भएकाले उनका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरिएको हो । मृतकका तीन दिदीको विवाह भइसकेको र सीता भने अविवाहित रहेको वडाध्यक्ष कँडेलले बताए ।

 

Loading...