कुलेखानी भरिएपछि ड्याम खोलिदै, ड्याम खोल्दा कुलेखानीको पानी बाग्मतीमा मिसिने भएर तराइमा खतरा

काठमाडाैं, ३० असार । कुलेखानी जलविद्युत आयोजनाको जलाशय पूरै भरिएको छ। सोमबार बिहान साढे सातबजेसम्म जलाशयमा पानीको सतह १५ सय २५ दशमलब ५७ सेन्टिमिटर पुगेको कुलेखानी जलविद्युत आयोजनाले जनाएको छ। जलाशय भरिएर खतराको तहमा पुगेपछि आयोजनाले ठाउँठाउँमा बाँध खोल्ने तयारी गरेको छ। केही घन्टामा नै आयोजनाको पानी खोल्न लागिएको जनाउँदै आयोजनाले तल्लाे तटीय क्षेत्रमा रहने नागरिकलाइ पूरै सचेत रहन अाग्रह गरेकाे छ ।

अायाेजनाले ड्याम खोल्दा त्यस आसपासका झण्डै दुई सय घर जोखिममा पर्न सक्ने जनाएको छ। साथै ड्याम खाेलेपछि कुलेखानीको पानी बागमती नदीमा मिसिने र त्यसले त्यता पनि असर गर्न सक्ने बताइएकाे छ । कुलेखानी इन्द्र सराेवरकाे बाँध खाेलेपछि बागमतीमा मिसिदा बागमती नदीमा बाढी आउने भएकाले मकवानपुर, सिन्धुली, सर्लाही र रौतहट क्षेत्रमा ठूलाे असर पर्न सक्ने बताइएकाे छ । महाशाखाले त्यस क्षेत्रका नागरिकलाइ पनि सचेत रहन आग्रह गरेको छ।

केही दिनदेखि लगातार वर्षा भएपछि तालमा पानीको सतह बढेको हो। आइतबार साँझसम्म पानीको सतह १५ सय २० मिटर थियो। राति सतह एक्कासी ५ मिटर बढेको हो। जलाशय भरिएर खतराको तहमा पुगेपछि आयोजनाले त्यसलाई खोल्ने तयारी गरेको छ। केही घन्टापछि नै आयोजनाको पानी खोल्न लागिएको आयोजनाले जनाएको छ। कुलेखानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठक बसेकाे थियाे । साेही बैठकले इन्द्रसरोवरको ड्याम केही खोलेर भए पनि जोखिम कम गर्ने निर्णय गरेकाे हाे ।

जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो। ०७२ को भूकम्पले ड्याम चर्किएकाले हाल आयोजनामा अधिकतम १ हजार ५ सय २७ मिटर मात्रै संकलन हुँदै आएको छ। हाल जलाशयमा प्रतिघण्टा ६० सेन्टिमिटरले पानी थपिदै गएको आयोजनाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाले पानीकाे सतह बढेपछि कुलेखानी ताल रहेकाे मकवानपुर आसपासका क्षेत्रमा बसाेवास गर्ने नागरिकलाइ सचेतता अपनाउन अाग्रह गरेकाे छ । महाशाखाले कुलेखानी जलविद्युत आयोजना रहेकाे इन्द्र सरोबर भरिएकाे हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने तर्फ सचेत पनि गराएको छ । यसका लागि तालदेखि तल्लो तटिय क्षेत्रमा
बसाेबास गर्नेहरुलाइ सतर्कता अपनाउन महाशाखाले अाग्रह गरेकाे छ।

विगत दुईवर्ष यता कुलेखानीमा पानी भरिएको थिएन। यस वर्ष भारी वर्षा भएकाले आयोजना चाँडै भरिएको हो। ड्याम खोल्दा मकवानपुरको इन्द्रसरोवर र भिमफेदी गाउँपालिकामा बढी असर पर्ने र सिस्नेरी, हेबी, सुलिकोट, नागमारा, खानीखेत, ज्यामिरे, टेकरको तल्लोभाग, सानुटार लगायतका क्षेत्रमा पनि असर पर्ने बताइएकाे छ ।

समुद्री सतहबाट एक सय १४ मिटर उचाइमा कुलेखानी आयोजनाको ड्याम रहेको छ। तीन सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइको जलाशय ३७ वर्षअघि निर्माण गरिएको हो।

Loading...