वर्षामा थन्काउने गरिएका कुलेखानी जलविद्युत आयोजना इन्द्र सरोवर भरिएपछि पूर्ण क्षमतामा चलाइयो

काठमाडौं, ३० असार । कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाइएपछि भारतबाट आयात गरिने विद्युत घटाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

अत्यधिक वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाका लागि बनाइएको इन्द्र सरोबर ताल पूरै भरिएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थालिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इन्द्रसरोवरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएको जानकारी दिए ।

प्राधिकरणले ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाट क्षमताको दोस्रो आयोजना दुबैलाई पूर्ण क्षमतामा चलाइएको जानकारी दिएको छ । यसवर्ष इन्द्रसरोवर वर्षा सुरु भएको केही दिनमै भरिएपछि विद्युत उत्पादन बढेको र यसले गर्दा भारतबाट गरिने विद्युतको आयात पनि घटाउनु परेको पनि प्राधिकरणले जनाएको छ ।

यसअघिका वर्षहरुमा असोज महिनामा पुगेपछि मात्र कुलेखानीको जलाशय भरिने गरेको थियो । जसले गर्दा कुलेखानीका दुबै आयोजना नियमित रुपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने गरिएको थिएन । यस वर्ष असारमै भरिएर बाँध नै खोल्नु खोल्नुपर्ने अवस्थामा पुगेको छ ।

यसअघि त प्राधिकरणले वर्षातको समयमा कुलेखानीको विद्युगृह नचलाई राख्ने गरेको थियो । कुलेखानी वर्षाको पानी जम्मा गरी मुख्य रुपमा विद्युतको अधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो ।

अहिलेसम्म विद्युत आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी आयोजना चलाइने गरेको छ । कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमिटर घट्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार अहिले ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट करिब १५० मेगावाट मात्र विद्युत् आयात भइरहेको छ । अविरल वर्षका कारण तराईमा पनि विद्युतको माग घटेको प्राधिकरणले बताएको छ । अहिले देशभर करीब ६ सय मेगावाट मात्रै माग रहेको छ ।

यसैबीच प्राधिकरणले कुलेखानीका दुबै आयोजना पूर्ण रुपमा चलाए पनि इन्द्र सरोवर जलाशयमा पानी भरिने क्रम भने अझै जारी छ । यसरी पनि पानी नघटेर बढ्न थाले पानीको निकासका लागि बाँधको गेट खोल्नुपर्ने अवस्था आउनसक्ने पनि प्राधिकरणले जनाएको छ । त्यस्तो अवस्था जतिबेला पनि आउन सक्ने भन्दै प्राधिकरणले कुलेखानी बग्ने तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ । उता बागमती नदीमा पहिले नै पानीको सतह निकै माथि छ । कुलेखानीको पानी पनि खोलेर बागमतिमा पु¥याउँदा त्यसले तराईका जिल्लामा अझ बढी असर गर्न सक्ने बताइन्छ ।

गत वर्ष वर्षभर जलाशयमा पानीको सतह १५२६ मिटर मात्र थियो । यसवर्ष सोमबार बिहानसम्ममा १५२६ मिटर पुगेको छ । सोमबार बिहान साढे पाँच बजे १५२५.१७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १५२६ मिटर पुगेको हो । जलाशयमा अधिकतम १५३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ । तीन÷चार दिनमै जलाशयमा पानीको सतह करिब २० मिटर बढेको छ ।

Loading...