काठमाडौं, ३० असार । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार झाडीमा फसेको बाह्रसिँंगेजस्तो भएको भन्दै बिलौना गरेका छन् । सोमवार संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सरकार झाडीमा फसेको बाह्रसिँंगेजस्तो भएको भन्दै बिलौना गरेका हुन् ।
सोमवार राजधानीमा ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ द्वारा आयोजित सञ्चार उद्यमीसँगको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले भने ”सरकार झाडीमा फसेको बाह्रसिँंगेजस्तो भएकाे छ, हामीले झाडी छिचोल्न सकिरहेका छैनौंँ ।”
मिडियाप्रति असन्तुष्ट देखिएका मन्त्री बाँस्कोटाले कम्युनिष्ट पार्टीको सरकार भए पनि नेपालमा लोकतन्त्र रहेकोले लोकतन्त्रमा प्रेस खुला रहेको बताए । उनले साे क्रममा नयाँ आउन लागेको आमसञ्चार कानूनले प्रेसलाई व्यवस्थित गर्ने जिकिर पनि गरे ।
पछिल्लो समय बिद्रोही पार्टी बिप्लव नेतृत्वको नेकपामाथि सशक्त कारवाहीमा उत्रिएको सरकारका प्रवक्ता बाँस्कोटाले अप्रत्यक्षरुपमा प्रेसको साथ् समेत माग्न भ्याए । उनले आतङ्कवाद र हिंसालाई साथ् दिने कि नदिने भन्नेमा सञ्चारमाध्यमको दृष्टिकोण माग गरेका थिए ।
संचार माध्यमहरुको मालिकहरु भेला गरेर उनले भने, ‘‘आतङ्कवादप्रति नेपाली मिडियाको दृष्टिकोण के हो ?” मन्त्री बाँस्कोटाले हिंसामा उत्रिएको समूह र प्रहरीसँगको भिडन्तमा आएको समाचार चित्तबुझ्दो नभएको जिकिर गरेका थिए ।
उनले सञ्चारमाध्यमलाई स्वनियममा लानुपर्नेमा जोड दिदै न्यूनतम पारिश्रमिक लागू गर्न आफू लागिपरेको समेत बताए ।