केपी र प्रचण्डले आलोपालो सरकार चलाउने सहमति पालना गर्न भिम रावलको माग

काठमाडौं, १५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीका दुई अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लागु हुनुपर्ने माग गरेका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले अध्यक्षद्वय केपी ओली र प्रचण्डकाबीच सरकारमा आलोपालो गर्ने सहमति भएको भए त्यो लागु हुनुपर्ने बताएका हुन् । रावलले पार्टी एकताको बेला पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सबै सहमति पालना हुनुपर्नेमा जोड दिए । पार्टी एकताको सन्दर्भमा गरिएका सबैखाले प्रतिबद्धताहरु पूरा गर्नुपर्ने समेत धारणा राखे । एउटै पार्टीमा दुई अध्यक्ष रहेको र त्यसमा कसको बरियता के हुने भन्नेबारे व्यापक बहस भइरहेका बेला नेता रावलको यस्तो धारणा आएको हो । यसअघि पार्टी एकताका क्रममा सरकारमा पनि आधा अवधि एक अध्यक्ष र आधा अवधि अर्को अध्यक्षले प्रधानमन्त्री बन्ने सहमति भएको समाचार आएका थिए ।

उनले भने,‘यदि सरकारको नेतृत्व आलोपालो गर्नेबारे पनि उहाँहरुबीच सहमति भएको हो भने त्यहीअनुसार अगाडि बढ्नुपर्छ । सहमति गर्ने अनि पालना नगर्ने ? भन्ने कुरा हुँदैन् ।’ उनले सहमतिको बेलाका हस्ताक्षरकर्ता र साक्षीहरुलाई यस विषयमा राम्रोसँग थाहा होला भन्दै प्रष्ट पार्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै नेता रावलले नेकपाको आन्तरिक विधानमा अभिलिखित नीतिलाई सबैले पालना गर्नुपर्ने बताए । उनले भने, ‘पार्टी एकीकरणका बेला भएका सहमति सबैले मान्नुपर्छ । यसबाट कोही पनि विचलित हुनुहुँदैन् ।’ कसैलाई पार्टीको नीति मन नपरे केन्द्रीय कमिटिमा राख्नुपर्ने पनि उनको भनाइ थियो ।

नेता रावलले भने, ‘यदि पार्टीको नीतिबारे चित्त बुझेको छैन भने पार्टीको केन्द्रिय कमिटीमा विचार राखिनुपर्छ ।’ यद्यपि केन्द्रीय कमिटीको बैठक नबसेको धेरै लामो समय भएकोमा उनले गुनासो पोखे । त्यस्तै, स्थायी कमिटीको बैठक पनि पुसदेखि यता बस्न नसकेको उनले टिप्पणी गरे । पार्टीको बैठक नबसेको कारण आफ्ना कुरा राख्न नपाएको पनि उनले गुनासो पोखे । उनले भने,‘मैले जे कुरा बोलेको छु, सबै पार्टीको घोषित नीतिअनुसारनै बोलेको छु ।’

पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने स्पष्ट पारे ।

उनले अर्को सन्दर्भमा अहिले पार्टीको नीतिका बारेमा पनि केही नेताहरुले गरेको बहस उपयुक्त नभएको बताए । उनले पार्टीको विधानमै जनताको जनवाद नीति अवलम्बन गरिएको प्रष्ट पारे । उनले भने, ‘यही कुरा शीर्ष नेताहरुबीच सहमति भएको हो । कसले र किन पार्टीको नीतिबारे यसरी विवाद सिर्जना गरेको हो ? मैले बुझ्न सकेको छैन ।’

साक्षात्कारमा बोल्दै उनले भने, ‘हाम्रो पार्टीको विधानमै स्पष्ट रुपमा पार्टी नीतिबारे लेखिएको छ । हाम्रो पार्टीको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद हो । र घोषित नीति भनेको जनताको जनवाद हो । सबै नेता विधानअनुसार चल्नुपर्छ ।’ सहमतिको विपरितको गईयो भने राजनीतिक अस्थिरता निम्तिने खतरा रहेको पनि रावलको टिप्पणी छ ।

रावलले जनताले नेकपालाई ठूलो जिम्मेवारी दिएर सरकारमा पठाएको सुनाए । उनले भने,‘जनताले हामीलाई ठूलो जिम्मेवारी दिएर पठाएका छन् । संविधान, नेकपाको विधान, जनताको आकांक्षालाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ ।’ सरकारले कतिपय राम्रा कामहरु गरेको उनको दाबी छ ।
तर, सरकारको कामको समिक्षा पार्टीले गर्नुपर्नेमा उक्त काम अहिलेसम्म नभएकोमा रावलले आक्रोश पोखे । उनले भने,‘यो सरकार देश र जनताप्रति जिम्मेवार बन्नुपर्छ । सरकारले आफ्ना कमजोरीहरुलाई आत्मसात गर्नुपर्छ । सरकारले देशको हितमा काम गर्नुपर्छ ।’

उनले मन्त्रीहरु हेरफेरको चर्चाबारे प्रकाश पार्दै भने,‘सरकार फेरवदल सामान्य प्रक्रिया हो । तर, कुन–कुन आवश्यकत्ता र के कति कारणले किन मन्त्रीहरु फेर्नुपर्ने हो, त्यसबारेमा पार्टीको नीतिअनुसार पार्टीको बैठकमा छलफल हुनुपर्छ । यसबारेमा अहिलेसम्म पार्टीमा कुनै छलफल भएको छैन ।’
रावलले मन्त्रीहरु हेरफेर आवश्यक छ वा छैन भनेर आफूले कुनै प्रतिक्रिया दिनुभन्दापनि सरकारको कामको बारेमा पार्टीमा समिक्षा हुनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘यदि कसैले प्रभावकारी काम गर्न सकेको छैन भने फिर्ता बोलाउनुपर्छ ।’

Loading...