सिंहदरवार गेटमै समातिए सरकारी छाप र दस्तखत किर्ते गर्ने जोडी

काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा सरकारी छाप र दस्तखत किर्ते गरेको कागजात सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीद्वारा हस्ताक्षेरित लक्ष्मी अधिकारीको बुवाको मृत्यु नेपाल सरकारको कारण भएकोले क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी जम्मा १ अर्ब ८ करोड ७६ लाख दिने उल्लेख गरिएको किर्ते कागज, १३ थान बैंकको चेक, विभिन्न व्यक्तिहरुको राहदानी तथा नगद ४२ हजार २ सय १० रुपैयाँ समेत बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...