चाल, चलन र चरित्र फेर्ने भनेको फलामकै च्यूरा चपाउनु हो । यो कथन सबभन्दा ज्यादा माओवादी आन्दोलनमा लागु हुन्छ । हरेक समाज, राजनीतिक पार्टी, समूह वा धार्मिक संघ सस्थालाई फरक पार्ने भनेको उसका चाल, चलन र चरित्र नै हुन् । सोहीअनुसार नियम बनाइएका हुन्छन् । आजको मानिस कथनीमा हैन, करनीमा विश्वास गर्छ । विश्वासमा हैन, तथ्यमय तर्कले चालित हुन्छ । यी सबैको निर्धारण संस्कृतिले गर्छ । समग्रमा संस्कृतिको आधार भनेको प्रकृतिका प्रतिकूलतासँगैं जुझ्दा समाज विकासको क्रममा वर्ग संघर्षको विकाससँगै हुन्छ । इतिहासको निरन्तरता, भौगोलिक अवस्थाले पार्ने प्रभाव, उत्पादनका साधन, स्रोत र स्वामित्वले माग गर्ने भावानात्मक अभिव्यक्तिमा देखिने गर्छ । हरेक राजनीतिक पार्टीका आआफ्ना लक्ष्य, प्राप्त गर्ने आआफ्नै विधि भएकाले सामाजिक र व्यक्तिगत जीवन पद्धति पनि फरक हुन्छन् । सोच, आचरण, सम्बन्ध र भूमिका अन्यसँग भिन्न हुन्छन् । त्यसैले नै सोच र सक्रियता अनुसारको व्यवहारले राजनीतिक संस्कृतिको जग बसाएको निर्णायक तत्व हुन्छ । आन्दोलनको भाव र भूमिका भने नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिमा देखिन्छ ।
जहिले पनि समाजको ठूलो हिस्सा भने यथास्थितिमा रमाउँछ । परिवर्तनको भूमिका अरुले निभाइदेओस् र वातावरण नखज्बजीइकन उपलब्धि भने पाईयोस् भन्नेमा हुन्छ । अतीतप्रतिको दिलचस्पी र उत्खनन्मा चासो, वर्तमानमा घटिरहेका घटना र त्यसले पार्ने प्रभाव, असर र परिणामको जवाफ पनि विगतसँगै रहेकाले हो । मानवीय स्वभाव नै विरोधमा रमाउने भएकाले आफूलाई पृथक देखाउन र पहिचानको खोजीमा विरोधमा अस्तित्व खोजिरहेका पनि हुन्छन् । नेतृत्व पनि सोही समाजको उपज भएकाले समाजको छाप उसमा पर्दैन भन्ने हुँदैन । तर, आम मानिसभन्दा समयका गति चिन्ने, पछ्याउने र आमसमुदायलाई डोर्याएर लक्ष्यमा पुग्ने र पु¥याउने आँट, धैर्य, मार्र्गिचत्र र त्यसको मूल्य भुक्तान गर्नेमा नेतृत्व पहिलो कोटीमा भएर नै ऊ नेतृत्व बन्छ । जहाँ पनि क्रान्ति र प्रतिक्रान्तिका अभ्यास भए त्यहाँ पहिलो नेतृत्वमाथि नै चौतर्फी आक्रमण भए । कयौँ नेतृत्वले स्वनिर्मित आस्थाको धरहरा आफैले ध्वस्त पारेर खलनायक बनेका उदाहरणहरु संसारमै नभएका भने हैनन् ।
अहिले नेपाली राजनीतिमा नेता र राजनीतिक दलमाथि विश्वासमा ह्रास आइरहेको छ । दुनियाँलाई चमत्कार देखाउने जनयुद्ध र जनआन्दोलन पछाडि दलहरु बीच धेरै सहमती, समझदारी र सम्झौता भए । तर नयाँ राजनीतिक संस्कृतिको थालनी भने भएन । पुराना चिन्तनशैली भत्काउन नसक्दा, नसोच्दा नयाँ बन्नै सक्दैनथ्यो । त्यसैले माओवादीले आमूल परिवर्तनको मर्म थेग्न नसक्नु अन्यथा थिएन । लागु गर्न नपर्ने वाचा बन्धन बनेकाले संकटको कमाण्ड सम्हाल्नु पर्ने नेताहरुको ओजन स्वतः घट्दै गयो । हरेक पार्टीमा आन्तरिक खिचलोले पार्टीको तागतमात्रै कमजोर बनाएको हुँदैन् अनेकौ आवरणमा विभिषणको चलखेल पनि बढछ । पार्टीहरुले विचार अनुसारको राजनीतिक संस्कृति विकास गर्न नसक्दा जसको विरुद्धमा संघर्ष गरिएको थियो, त्यसैलाई फेर्छुभन्दा स्वयं फेरिने अवस्था आयो । नेतृत्वको औकात स्वयं नेताहरु आफँैले उल्लङ्घन गर्न नहिच्किचाउनु र खिल्ली उडाउनु भनेको आत्महत्याको स्वीकार हुन जान्थ्यो । यस्तोबेला पार्टी कार्यकर्ताहरुमा निराशा छाउँछ । राष्ट्रिय निराशामा देश फस्न पुग्छ । यो भनेको नजानिदो तरिकाले यथास्थिति र प्रतिगमनको हीतमा जान्छ । सत्ता सामान्य तरिकाले समग्र रुपान्तरण चाहदैन् । सुधारबाट समेत झस्कन्छ । परिवर्तनको पक्षमा जुटन आग्रहले दिँदैन । आग्रह नै सनातनी राजनीतिज्ञ विचारकहरुको चालक शक्ति बनेकोले सामाजिक रन्थनाहटका ज्वारभाटा र गतिशीलतालाई ठम्याउन पनि सक्दैनन् ।
आचरण दुब्लाउँदै जाँदा हरेक पार्टीका ओजन खस्किए । औकात गुम्दै गए । विचार वाहक संगठनको पाटो कमजोर बन्दै गयो । कांग्रेस र एमालेमा त छँदै थियो, त्यो छुतको रोग माओवादी आन्दोलनमा समेत देखा पर्यो । नेता, कार्यकर्ता र पक्ष वा विपक्षमा सरोकार राख्नेहरुको सक्रिय बहसमा राजनीतिक संस्कृतिको स्तर कमजोर बन्न थाल्यो । दोहोरो जिन्दगी यसैका कारण बने ।
हरेक राजनीतिक आन्दोलनसँगसँगै राजनीतिक संस्कृतिको पनि विकास हुन्छ । जनयुद्धको सामाजिक राजनीतिक प्रकृया भनेको विद्रोह, हस्तक्षेप र रुपान्तरण नै थियो । तर, अहिले भने मन नमिल्ने र बुझाईमा भिन्न हुने बित्तिकै तर्क र विस्वासको पक्षधरताभन्दा असहिष्णुता धेरै देखिँदै गए । विचारको स्खलन र व्यवस्थापनको अभावमा प्रतिक्रियाले जन्माएको आग्रह धेरै देखिँदै गए । हरेक पार्टीमा समूह संस्कृति पातलिँदैै जाँदा आन्दोलन भित्रका सीमा र समस्या के, के हुन ? र, त्यसको निदान कसरी गर्ने भन्दा पनि असहिष्णुताको रोग र गुटगत तनाव झाङ्गिँदै गए । जनयुद्धमा च्याम्पियन बनेको माओवादी मनोयुद्धको चक्रब्यूहमा फस्दै गयो । आवेगमा खेल्ने विषयलाई तन्काउने लुकेर हवाईफायर गर्ने, बिपक्षका प्रचारसामाग्री स्वयं बनिदिने काम भए । विवादलाई तन्काएर उत्तेजीत पार्ने या त अज्ञानीका काम हुन्थे या त पार्टी ध्वस्त गराउने बैरीका खेल । अपेक्षा गर्ने तर दायित्व ननिभाउनेहरु सलबलाए मात्रै हैन, निर्णायक तह कब्जा गर्न थाले । यी कर्म र कुकर्म देख्दा के भन्न सकियो भने जुन तीब्रताका साथमा बितेको डेढ दशकमा जनयुद्धको विकास र विस्तार भयो सोही स्तरमा राजनीतिक संस्कृतिको विकासमा पार्टी स्वयंले पटक्कै ध्यान दिएको रहेनछ भन्ने भयो ।
जनयुद्धको संस्कृति भनेको सामाजिक आमूल परिवर्तनका लागि समूहवादी सोचलाई जीवन व्यवहारमा उर्तार्ने र प्रतिवद्धताका लागि त्याग एवं बलिदानको कीर्तिमान कायम गर्न स्ययम् पहलकदमी लिने भन्ने हो । जीवन र जगतलाई अध्ययन गर्ने, जीवनपद्धति बनाउने र आफै जलेर अरुलाई उज्यालो छर्ने हो । विवेक सहितको आवेग पैदा गर्दै दुश्मन प्रतिको चरम घृणा देखाउँदै बज्रने र स्वजनप्रतिको हार्दिकता समवेदना सहितको प्रेम र सम्मान गर्नु हो । विधिमा टेक्दै विधि भत्काउँदै विधि बनाउनु थियो । व्यक्तिगत विषयलाई सार्वजनिक विषय बनाउनु, समूहमा रमाउने र जीवन देख्ने त्यसैलाई जीवनपद्धति निर्माण गर्नु वा सो दिशामा अगाडि बढ्नु थियो । समूहको हीतसँगैं निजी हीत हुन्छ भन्ने मान्यतामा आफ्ना ज्ञान, विवेक र सक्रियता विकास गर्नु थियो । मानव विकासमा जाति, क्षेत्र, लिङ्ग घर्म, भाषाले अवरोध बन्न पाउदैन र हँुदैन भन्ने मान्यता स्थापित गर्नु हो । राज्यको धर्म हुँदैन व्यक्तिगत आस्था र भावनाको विषय हो भन्ने हो । यो सबैको थालनीको लागि मौन समाजमा हस्तक्षेपको भाषाले सुशुप्त चेतनालाई जागृत चेतनामा फेरिदियो । रक्त नाताभन्दा वर्ग प्रेम र संवेदनात्मक सम्बन्ध गाढा भए । ऐतिहासिक निरन्तरता पाउदै जाँदा जीवनपद्धति बन्दै थियो । सम्भावनाको उपयोग, नाराहरुको सर्वस्वीकार्य अवस्थामा आन्दोलनको मोडसँगैं जनयुद्धको वेगमय अवस्थाबाट आन्दोलन भिन्न परिस्थितिमा पुग्यो । युद्ध र शान्तिका अभ्यास क्रममा फेरि टुटेका सम्बन्धहरु मात्र जोडिएनन्, त्यागेका आचरण पनि पन्पिन पायो । त्यसले विश्वासमा मात्र सङ्कट ल्याएन् फेरि आदर्शले अर्काे परीक्षा दिन विवश बनायो । अब यही यसैगरी थन्किने हो कि ! आन्दोलनको नयाँ मार्गचित्र बनाउने हो भनेर चिन्ता जागे । सामाजिक गतिविधिको प्रभाव र सम्बन्धबाट अछुतो हुनै सक्दैनथ्यो । दोस्रो पक्ष हाम्रो जस्तो पछौटे र टुक्रे उत्पादन प्रणालीको छाप हाम्रो राजनीतिक संस्कृतिमा पर्नु स्वभाविकै हुन्थ्यो । त्यसको परिणाम फल खाने तर रुखको जह्रा काट्ने मनोभाव विकास हुँदा विरोधमा रमाउने र क्रान्तिकारी देखिदा खुसी हुने भावले विकास गर्यो । आदर्श फलाक्न सुन्दर तर स्वयंले जीवन व्यवहारमा लागु गर्नु नपर्ने । दायित्व निभाउने जति अर्काको जिम्मा लगाउँदै विरोधमा रमाउँदै फरक देखिने हरेक राजनीतिक दलको छुत रोग माओवादीमा पनि विकास भयो ।
हाम्रै देशको पनि इतिहास हेर्ने हो भने जहिले पनि राजनीतिक पार्टी ध्वस्त गर्न पहिलो पार्टी भित्र विभिषणको तयारी गर्नु, यदुवंशी तयार गर्नु, पार्टीलाई आन्दोलनको नेता नभई बौद्धिक बहसको केन्द्र मात्र बनाई राख्नमा देखिएको छ । कांग्रेसले यो नियती भोगेर उसको वैचारिक धरातल क्रान्तिकारी र प्रगतिशील छवि गुमायो भने त्यसैको शिकार एमाले भयो । माओवादी पनि उम्कन सकेन् । राजनीतिलाई व्यवस्थित गर्ने हो भने सुरुदेखि नै राजनीतिक एजेण्डामा संर्घषको एउटा थप एजेण्डा राजनीतिक संस्कृतिको बनाउनु पर्ने हुन्छ । त्यसलाई उपेक्षा गर्दा जो हविगत माओवादी पार्टीले मात्रै हैन, समग्र आन्दोलनले नै भोग्नु परेको छ । अब भने भोग्न भने नपरोस भन्ने हो । जो जहाँ जे जस्तो हैसियत र मूल्यलाई कथनीमा स्वीकार गर्छ, त्यसै अनुसारको सांस्कृतिक स्वीकार्यता आजको आवश्यकता हो… । अझ माओवादी घटकहरुलाई ।
पढ्न छुटाउनुभयाे कि !
हेल्मेट लगाको टाउकोमा आगो सल्काएर नयाँ बन्ने बाहाना
फेरि बज्यो प्रचण्डपथको बेमौसमी बाजा
चुनावी मैदानमा अर्को राजनीतिक ठट्टा
नेपालमा कम्युनिस्ट पार्टीका जन्मदाता पुष्पलाल : संशोधनवादका दुश्मन