‘नयाँ सोच्न पुरानो सोच बाधक हुन्छ भने सबभन्दा पहिला आफ्नै टाउकोमा आफैँ राँको झोस्नुपर्छ । यदि कसैले हेल्मेट लगाई टाउकोमा आगो सल्काएर नयाँ बन्ने बहाना गर्छ भने अरू सहयोद्धाले हेल्मेट खोलिदिएर राँको लगाउन सहयोग गर्नुपर्छ,’ जनयुद्धकालीन माओवादी कथन हो यो । माओवादी केन्द्रको बैठक अहिले चल्दै छ । के टाउकोमा राँको झोस्दै नयाँ चुनौती सामना गर्न, नयाँ बन्ने प्रण गर्न सक्ला यसले ? गुमेको विश्वास र हैसियत फेरि पाउन जोखिम उठाउनैपर्ने हो, तर चालचलन र चरित्र फेर्न भने चट्टान चपाएझैँ हुन्छ । आखिर ककसको चिन्तन र भूमिकामा ककसले झोसिदिने… राँको ?
मूलधारको राष्ट्रिय राजनीति र विमर्शलाई नयाँ दिशामा मोड्ने माओवादी नयाँ भूमिकामा आएर अझ पार्टी फुटेपछि देशको राजनीति र कम्युुनिस्ट आन्दोलनमा मात्रै हैन, विश्व समाजवादी आन्दोलनमै पनि नयाँ बहस उठे । बहसका विषय सैद्धान्तिक, राजनीतिक, सांस्कृतिक, सांगठनिक र मनोवैज्ञानिक थिए । विज्ञान र प्रविधिले सोच र आन्दोलनमा पारेका प्रभावबीच बहस अझ घनीभूत भए । के कम्युनिस्ट आन्दोलन सामतामूलक समाजको परिकल्पना मात्र हो ? के शोषणकारी व्यवस्थाको अन्त्य भनेको आदर्श मात्र हो ? स्पार्टाकस सदा हारिरहनुपर्ने प्रतीक मात्र बन्नुपर्ने हो ? संघर्षले मूल्य भुक्तान गर्दै उचाइमा त पुग्छ, तर आफ्नै उपलब्धिको रक्षा गर्न नसकेर विघटनमा धकेलिने नियति आखिर किन व्यहोर्नुपर्छ ?
जनयुद्धको शक्ति अहिले मनोयुद्धको चक्रव्यूहमा फसेको छ । व्यूहको बाहिरी घेरा तोड्दै आफ्नै एजेन्डामा राजनीतिको केन्द्रमा त पुग्यो तर व्यूहबाट बाहिरिन भने हम्मे–हम्मे परेको छ । सम्राज्यवादी शक्तिलाई सशस्त्र विद्रोहको औचित्यहीन सावित गर्नैपथ्र्यो । सैन्यहलबाट समाधान नहुने देखिएपछि थकाउने, गलाउने, निराश बनाउने प्रतिकार समूह बनाउने र गद्दारहरू जन्माउने खेललाई राजनीतिको कमान्डमा बन्दुकलाई राखेर क्रस गर्न सक्यो । तर, सहमतीय राजनीतिमा पनि आफ्नै एजेन्डा हाँक्दै कुशलतापूर्वक क्रस गरेपछि कसैगरी पार्टी विभाजनलाई टार्न भने सकेन । त्यसलाई तर्कले आवेग भर्नुपर्ने हुन्थ्यो । नेतृत्वको छवि ध्वस्त गर्नुपर्ने, प्राविधिक कुरा उठाउनुपर्ने, सिद्धान्त विचलन र लक्ष्यहीन सावित गर्नुपर्ने हुन्थ्यो । त्यो एक्कासि नभई सुस्तसुस्त हुँदै गयो । असन्तोषले आदर्शका पछ्यौरी ओढेर चुलिएका महत्वाकांक्षालाई आवेगमा फेर्दै थियो । समग्र क्षेत्रमा जनयुद्धका सांस्कृतिक बिरासत र नैतिक पुँजी क्रमशः ध्वस्त हुँदै गयो । तब क्रियामा नभई प्रतिक्रियामा आवेग भरिँदै पार्टी फुट्दै पनि गयो । त्यसको असर सपन्न निर्वाचनमा देखियो ।
निर्वाचनपछि माओवादी केन्द्रको पहिलो बैठक चल्दै छ । कुन–कुन विषयमा सैद्धान्तिक र कार्यनीतिक विषयमा निर्मम समीक्षा गर्दै नयाँ कार्यदिशा तय गर्ने विषयमा स्पष्ट हुनुपर्नेछ । भ्रम परेका कुन–कुन विषय छन् स्पष्ट पार्नुपर्ने छ । के–के विषय सच्याउनुपर्ने हो ? निर्भीकतापूर्वक सच्याउने आँट गर्नुपर्छ । अर्काले के भन्ला भनेर नभई चुनौती र सम्भावनाप्रति गम्भीर हुनुपर्नेछ । तब मात्र पार्टीको विभाजनले पारेको असरको निराशालाई सम्बोधन गर्न सकिनेछ ।
नेपाली राजनीतिक, सामाजिक र आर्थिक अवस्था, वर्ग र शक्ति सन्तुलनमा आएको हेरफेरले अन्तरविरोधमा फरक पारेको छ । त्यसको निक्र्योलपछि मात्र कार्यदिशाको निक्र्योल गर्न सकिछ र मूल कार्यनीति तय गर्न सहज हुन्छ । कार्यनीतिलाई हाँक्ने सांगठनिक संरचना सोहीअनुसारको हुनुपर्छ । अन्योलमा रहेका कैयौँ प्रश्नको बैठकले यथोचित जवाफ दिएर मात्र निराशालाई आशामा फेर्दै गुमेको साख र शक्ति आर्जन गर्न सक्छ । जवाफ खोजिरहेका ती प्रश्न हुन्– राजनीति किन गर्ने र राजनीति कसका लागि ? अहिले क्रान्ति कहाँ छ ? पार्टी के हो ? के ऊ कम्युनिस्ट पार्टी नै हो कि अथवा अन्य ? जनयुद्धका उपलब्धि के–के हुन् ? र रूपमा ती कहाँ कुन अवस्थामा छन् ? नेपाली वर्गसंर्घषको वर्तमान रूप र अवस्था के हो ? पार्टी र देशमा बढेको–बढाइएको महत्वाकांक्षाको व्यवस्थापन कसरी हुन सक्छ ? मूल समस्या वर्गीय हो कि जातीय ? जातीय महत्वाकांक्षलाई कसरी वर्गसंघर्षले नेतृत्व गर्ने ? बढ्दै गएको ‘जेनोफेबियालाई’ वर्गसंघर्षमातहत कसरी व्यवस्थापन गर्ने ? स्थायी रूपमा विकसित गुटको संगठनात्मक रोगलाई कसरी विधिसम्मत बनाउने ? नेतृत्वको उत्तराधिकारी प्रश्नलाई कसरी हल गर्ने ? दुई महाशक्तिबीचको भूगोलमा स्वाभिमानी राजनीतिक सुनिश्चितता कसरी गर्ने ?
हरेक नयाँ परिस्थितिले सिर्जना गर्ने चुनौती अत्यन्तै जोखिमका हुन्छन् । त्यस जोखिमलाई विचार, साहस र कलाको फ्युजनले मात्रै पार लगाउँछ । हरेक समस्यालाई विचारमा ढालेपछि मात्र निकास निस्कन्छन् । माओवादीको चालू बैठकले जोखिमलाई सामाना त गर्छ ? यो प्रतिक्रियाका उत्तेजनामा नभई क्रिया उत्पन्न गर्दै पहल लिने हो भने विगतमा जस्तै राजनीतिमा श्रेष्ठता लिन सक्नेछ । नेपाली राजनीतिमा मात्रै हैन, सत्ताको संरचनागत आमूल परिवर्तनका नसुल्झिएका जिज्ञासाको हल गरेर मात्र आगामी यात्रा तय गर्नुपर्ने हुन्छ, नत्र विघटनका लागि माओवादी तयार हुनुपर्नेछ । प्रतिकूलताका गरिमा अनुकूलतामा थेग्न नसकेको सम्पन्न निर्वाचनले देखायो । चालू बैठक आप्mनै गरिमा धान्ने कि बोझले किचिने भन्ने जवाफ हुनेछ । त्यसको सिद्धान्त, राजनीति, संस्कृति, संगठन र मनोवैज्ञानिक जिज्ञासाका जवाफ दिनुपर्ने हुन्छ । फेरि प्रश्न उठ्छ– आखिर यसका लागि ककसको चिन्तन र भूमिकामा ककसले ककसको हेल्मेट खोलेर टाउकोमा राँको झोसिदिने हो ?