ओलीले बोली र ईश्वर पोखरेलको फेसबुक स्टाटसले नेकपामा तरंग, जिब्रो चिप्लेको प्रसंगले नेकपा फुटतिर

काठमाडौँ, २७ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीले बेलाबेला ठूलो विवाद ल्याउने गरेको छ । पछिल्लो समय ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालका बारेमा बोलेको त्यस्तै बोलीले पार्टी पूर्ण रुपमा एकता भइनसक्दै फुटतिर जान थालेको छ । ओलीपछि उनका कट्टर समर्थक अर्का नेता तथा उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले त सामाजिक सञ्जालमै गएर प्रचण्डमाथि कटाक्ष हानेका छन् । उनले पार्टी एकता हुँदा सैद्धान्तिक विषयमा छलफल हुन नपाएको समेत उल्लेख गरेपछि यो पार्टी विभाजनतिर जान लागेको थाहा भएको हो । पोखरेलले प्रचण्डलाई घुमाउरो पाराले लक्षित गर्दै उनी सनक र उन्मादमा रमाएकोसम्म भन्न भ्याएका छन् ।

केही दिन पहिले अध्यक्ष प्रचण्डले भेनेजुयलामाथि अमेरिकाले बढाएको हस्तक्षेपको विरोध गर्दै एक वक्तव्य दिएका थिए । सोही वक्तव्यलाई लिएर प्रम ओलीले प्रचण्डको सो अभिव्यक्तिलाई चिप्लिएको भन्दै टिप्पणी गरे । प्रम ओलीको यो टिप्पणीलाई निकै हल्का टिप्पणीका रुपमा लिइयो । साथै प्रचण्डको उक्त वक्तव्यका बारेमा पनि विवाद बन्यो । यही प्रसंगले अहिले नेकपाभित्र दुई अध्यक्षकाबीच फाटो आएको चर्चा चलेको छ । ओलीको उक्त बोलीमाथि उनका डाइहार्ड केही नेताहरुले पनि हो मा हो मिलाएर बोल्दै हिडेपछि झन समस्या उत्पन्न हुने ठानिएको छ । ओलीपछि शनिबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पनि प्रचण्डमाथि त्यस्तै कटाक्ष हाने । उनीहरुले प्रचण्डले अमेरिकाको विरोध गर्नु सही नभएको धारणा समेत व्यक्त गर्न खोजेका छन् ।

तर, प्रचण्डले भने कुनै एक स्वाधीन देशमाथि अर्को देशलाई हस्तक्षेप गर्नु सही नभएको भन्दै त्यस्ता कुरामा नेपालले बोल्नसक्नुपर्ने बताउँदै आएका छन् । भेनेजुयलामा निर्वाचित राष्टपति निकोलास मोदुरोका विरुद्ध अमेरिकाले विपक्षी नेता ख्वान गुइडोलाई सडकबाटै राष्ट्रपति घोषणा गरेर संकट उत्पन्न गराएको छ । सोही प्रसंगमा अहिले चीन र रुस लगायतका देशहरु अमेरिकाको उक्त हस्तक्षेपका विरुद्धमा छन भने अमेरिका, क्यानडा, फ्रान्स लगायतका देशहरु अमेरिकाको पक्षमा देखिएका छन् । त्यसैको प्रभाव नेपालमा पनि परेको देखिन्छ । प्रम ओली र उनी पक्षधरहरु अमेरिकाको पक्षतिर र प्रचण्ड लगायतका नेताहरु भेनेजुयलाको पक्षमा उभिएको देखिन्छ । सोही कारण नेकपामा स्पष्ट विवाद देखिएको छ ।

यसैबीच नेकपाका नेता भीम रावलले दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा रहेको बताएका छन् । ओलीपछि अर्का नेता ईश्वर पोखरेलले समेत सामाजिक सञ्जालमा नै लामा लामा स्टाटस लेखेर प्रचण्डको अभिव्यक्तिमाथि कटाक्ष हानेपछि रावलले यस्तो बताएका हुन ।

नेकपाका नेता ईश्वर पोखरेलले दाहालको अभिव्यक्तिलाई लक्षित गर्दै शनिबार फेसबुक पेजमा लामो स्टाटस लेखे । उक्त स्टाटसमा पोखरेलले पार्टी एकता घोषणा गर्दा गम्भीर छलफल र समीक्षा नभएको उल्लेख गर्दै सनक र उन्मादमा रमाउनेलाई पार्टी नेतृत्वमा ल्याउँदा दुर्भाग्य हुने भनी दाहालप्रति कटाक्ष गरेका छन् ।

पोखरेलले फेसबुक स्टाटसमा भनेका छन्, ‘कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन, ल्याइनै हुँदैन । अझ सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्‍याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ ।’

दाहालले शुक्रबार एक कार्यक्रममा सरकार संविधानको मर्मअनुसार नचलेको भन्दै ओलीको कार्यशैलीको कडा आलोचना गरेका थिए । उनले माओवादी समाप्त भएको रूपमा नबुझ्न जिकिर गर्दै ‘अर्को माओवादी’ जन्मिने चेतावनी दिएका थिए । नेता रावलले दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा रहेको औंल्याए । ‘देश र सरकारबारे बोल्दा विगतमा पार्टी फुटेको छ, त्यसलाई स्मरण गर्दै पार्टी एकीकरणको काम चाँडै टुंग्याउनुपर्छ ।’

नेता रावलले अहिले दुई अध्यक्षबीचको विवाद भेनेजुएला प्रकरण र पार्टी एकीकरण प्रक्रियासँग सम्बन्धित रहेको बताए् । उनले भने, ‘तीन महिनामा एकीकरण हुने भनिएको पार्टी ९ महिना बित्दासमेत हुन सकेको छैन । हजारौं नेता तथा कार्यकर्ता कामविहीन छन् । विगत स्मरण गर्दै पार्टी एकतालाई प्राथमिकतामा राखेर चाँडै टुंग्याउनुपर्छ ।’

भेनेजुएलाको राजनीतिक संकटबारे दाहालले दिएको वक्तव्यलाई ओलीले स्वामित्व नलिएपछि दाहाल ओलीसँग चिढिएका थिए । अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखेपछि ओलीले दाहालको वक्तव्यको स्वामित्व लिन चाहेका थिएनन् । उनले दाहालको अभिव्यक्ति हतारोमा आएको र शब्द चिप्लिएको भनी टिप्पणी गरेका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दाहालको असन्तुष्टि भेनेजुएला प्रकरणसँग मात्र सम्बन्धित नभएको बताए । ‘भेनेजुएला धेरै चिच्याइएको विषय मात्रै हो । यो कारणबाट त्यस्तो अभिव्यक्ति आएको होइन । अध्यक्ष दाहाल, पार्टी सचिवालय र सरकारले दिएको वक्तव्यको सार आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुन्न भन्ने नै हो,’ उनले भने, ‘साम्राज्यवादी भन्ने शब्द हाम्रो आइडियोलोजी हो ।’ दाहालबाट सरकारका कमीकमजोरी समीक्षा गरेर समृद्धिको लक्ष्य पूरा गर्ने दिशामा जानुपर्ने भनाइ आएको उनले प्रस्ट्याए । ‘यत्रो परिवर्तन गर्‍यौं, जनताले के पाए त ?’ उनले भने, ‘मूल्यांकन गर्दा त केही पाएका छैनन्, संघीयता कार्यान्वयन गर्ने, शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र पार्टी एकीकरणलाई समेत टुंग्याउने भावना दाहालले राख्नुभएको हो ।’

नेता योगेश भट्टराईले सरकारको नीति, कार्यक्रम र उद्देश्य सही भए पनि दिशा पक्डन नसकेको बताए । ‘मौसमी खराबीका कारण जहाजले सही दिशा समात्न सकेको छैन,’ सरकारप्रति लक्षित गर्दै उनले भने, ‘मौसम सुधार्दै उडानलाई सहज बनाउनुपर्छ । अहिले अध्यक्ष प्रचण्डको अभिव्यक्ति पनि त्यसै दिशामा केन्द्रित छ ।’ उनले पनि दाहालका अभिव्यक्ति भेनेजुएला प्रकरणमा मात्र सीमित नरहेर सरकारका काम, पार्टी एकता र शान्ति प्रक्रियाका कामसँग जोडिएको जनाए ।

‘पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया, सरकारको काम र पार्टी एकतामा अर्का अध्यक्षको ध्यानाकर्षण गराउन नै दाहालको अभिव्यक्ति आएको हो,’ भट्टराईको भनाइ छ, ‘शान्ति प्रक्रिया मागी खाने भाँडो नबनाई चाँडै सम्पन्न गरिनुपर्छ । राजनीतिक कोर्स बदल्न हुन्न भन्ने नै दाहालको अभिव्यक्ति हो ।’